काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको टाइप मिस्टेक प्रकरणमा नेपाल धितोपत्र बोर्डले बुधबारको सो बैंकको कारोबार राफसाफ नगर्न सिडिएसीलाई निर्देशन दिएको छ । 

बोर्डले शुक्रबार सिडिएस एण्ड क्लियिरङ लिमीटेडलाई पत्राचार गर्दै २ दिनअघि(बुधबार)को कारोबार छानबिन टुंगिएर कारबाहीको निर्णय नआएसम्मका लागि राफसाफ नगर्न निर्देशन दिइएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । 

बोर्डले बुधबार नै बैंकलाई पत्र पठाई गलत सूचनाको बिषयमा लिखित स्पष्टीकरण मागिसकेको छ । बोर्डले ३ दिनभित्र स्पष्टीकरण पठाउन बैंकलाई निर्देशन दिएको हो । सोही दिन नेपाल स्टक एक्सचेञ्जले समेत बैंकलाई स्पष्टीकरण सोधेको थियो । नेप्सेलाई बैंकले दिएको जवाफ तथा यो प्रकरणमा सोही दिन नेप्सेले बोर्डलाई ब्रिफिङ गरिसकेको बताइएको छ । 

प्रवक्ता गिरी अनुसार लाभांशको बिषयमा एकघण्टाको अवधिमा बैंकले अलग–अलग सूचना प्रवाह गर्दा लगानीकर्ता मारमा परेका र बजार गलत सूचनाले प्रवाहित भएको भन्दै बुधबारको इन्भेष्टमेन्ट बैंकको कारोबार राफसाफ नगर्न र नगराउन निर्देशन दिइएको छ । सिडिएसीले बोर्डको निर्देशन अनुसार सबै ब्रोकरहरुलाई सो बिषयमा जानकारी गराइसकिएको स्पष्ट पारेको छ । 

इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको खूद नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय भएको भन्दै बुधबार बजार खुलेलगत्तै सूचना प्रवाह गरेको थियो । नेप्सेको वेबसाइटमा यो सूचना प्रकाशित भएको ४५ मिनेटपछि टाइप मिस्टेक भन्दै २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर वितरणको निर्णय चाहि भएको भन्दै पहिलाको सूचना सच्याइएको थियो । 

यो बैंकको गलत सूचना दिएको दिन ७ करोड ९१ लख बढीको इन्भेष्टमेन्ट बैंकको सेयर किनबेच भएको थियो । बुधबार बजार खुल्दा प्रतिकित्ता ७४३ रुपैयाँ रहेको इन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता सेयरको मूल्य पहिलो सूचनापछि बुम भएर प्रतिकित्ता ८०५ रुपैयाँको उचाईमा पुुगेको थियो । पहिलाको सूचना संसोधन भएपछि भने लगानीकर्ता केही सम्हालिएका थिए, जसका कारण इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ८०५ बाट घटेर ७६२ मा झरेको थियो ।