काठमाण्डौ । धितोपत्र बोर्डले भदौ २१ गते बुधबारको नेपाल इन्भेष्टमेन्ट बैंकको सबै सेयर कारोबार रद्ध गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको छ । 

बोर्ड स्रोतका अनुसार छानबिनलाई जारी गर्दै बोर्डले मंगलबार सो दिनको इन्भेष्टमेन्ट बैंकको सबै कारोबार रद्ध गर्न नेप्सेलाई निर्देशन दिएको हो । 

सो निर्देशनसँगै बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई समेत स्पष्टीकरण सोधेको छ । इन्भेष्टमेन्ट बैंकले १ घण्टाको अवधिमा फरक–फरक सूचना जारी गर्दा पनि नेप्सेले किन प्रभावकारी भूमिका निर्वाह गरेन भन्ने बिषयमा समेत बोर्डले स्पष्टीकरण मागेको छ । ७ दिनभित्रमा नेप्सेले स्पष्टीकरण पठाउनुपर्ने पत्रमा उल्लेख छ । 

यो निर्देशनसँगै नेपाल इन्भेष्टमेन्ट बैंकको भदौ २१ गते बुधबारको सबै कारोबार रद्ध भएको छ । यो दिन यो बैंकको ७ करोड ९ लाख ७७ हजार रुपैयाँ बराबरको ९१ हजार ९ सय ८९ कित्ता सेयर किनबेच भएको थियो । 

नेपाल इन्भेष्टमेन्ट बैंकले सो दिन गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय भएको भन्दै नेप्सेको वेबसाइटमा सूचना प्रकाशित गरेको थियो । त्यसको एकघण्टा पनि नबित्दै ‘टाइप मिस्टेक’ भएको भन्दै पहिलो सूचनामा संसोधन गरी २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर वितरणको चाहि निर्णय भएको दाबी गरिएको थियो । 

बजार तथा बैंकको सेयर मूल्यमा प्रभाव पर्ने गरी गलत सूचना प्रवाह भएको बिषयलाई बैंकको अक्षम्य गल्ती भन्दै लगानीकर्ताहरुले त्यसको तीव्र विरोध गरेका थिए । केही लगानीकर्ताले पहिला प्रवाह भएको सूचना अनुसारकै लाभांश कार्यान्वयन हुनुपर्ने माग गरेका थिए भने धेरैले चाहि सो दिनको कारोबार नै रद्ध गर्न माग गरेका थिए । 

लगानीकर्ताहरुको हितलाई ध्यानमा राखेर धितोपत्र बोर्डले सोही दिन इन्भेष्टमेन्ट बैंकसँग तीनदिने स्पष्टीकरण सोधेको थियो । बैंकले आइतबार(भदौ २५) गते लिखित स्पष्टीकरण दिइसकेको छ । 

यो प्रकरणमा छानबिन गरिरहेको बोर्डले बैंकलाई समेत केही न केही नसिहत दिने अपेक्षा गरिए पनि पहिलो चरणमा भने नेप्सेलाई सो दिनको कारोबार रद्ध गर्न निर्देशन दिई स्पष्टीकरण सोधेको हो । 

त्यसअघि बोर्डले यही प्रकरणमा सिडिएससीलाई भदौ २१ गतेको इन्भेष्टमेन्ट बैंकको कारोबार राफसाफ नगर्न निर्देशन दिएको थियो । 

बैंकलाई के कारबाही हुन्छ ?
सो दिनको कारोबार रद्ध गर्न निर्देशन दिएको बोर्डले गलत सूचना प्रवाह गरेर लगानीकर्ता झुक्याउने बैंकलाई के कारबाही हुन्छ भन्ने बिषय चाहि अझै पनि बाहिर ल्याएको छैन । कानूनमा गलत सूचना दिएर लगानीकर्ता झुक्याउने र बजार प्रभावित गर्नेलाई नगद जरीवानादेखि जेल सजायसम्म हुने व्यवस्था छ । बोर्ड स्रोतले छानबिन जारी रहेको र बैंकलाई कस्तो कारबाही गर्ने भन्ने बिषय टुंगिन केही दिन लाग्ने दाबी गरेको छ । यो बिषयमा कुरा बुुझ्न बोर्डका प्रवक्ता निरज गिरीलाई मंगलबार फोन गर्दा उनले फोन उठाएनन् ।