काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा दुई उपप्रधानमन्त्री र कार्यकारी निर्देशकबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार सिंहदरबरमा बसेको बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीहरुले प्राधिकरणका कार्यकारी निर्देशक सुशीलराज ज्ञवालीमाथि काम गर्न नसकेको भन्दै प्रश्न उठाएपछि बैठकमा घम्साघम्सी भएको हो ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि निक्कै आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । अर्का उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासमेत कार्यकारी निर्देशकमाथि खनिएका थिए । उपप्रधानमन्त्री निधिले निर्देशक ज्ञवालीलाई अहिलेसम्म भूकम्पपीडितले राहत पाउन नसकेको भन्दै त्यसको जिम्मा तपाईंले लिने कि सरकारले भनेर प्रश्न गरेका थिए । ‘तपाईं असफल बन्नुभयो, प्राधिकरणका महत्वपूर्ण काममा चासो दिनुभएन,’ उपप्रधान तथा गृहमन्त्री निधिले बैठकमा भने, ‘अहिलेसम्म भूकम्पपीडितले राहत किन पाएनन् ? जवाफ दिनुहोस्, यसको जिम्मा कसले लिने ?’

जवाफका क्रममा निर्देशक ज्ञवालीले सबै दोष आफूलाई मात्र थोपरेर नहुने भन्दै अर्थ मन्त्रालयबाट आवश्यक रकम समेत नपाएको गुनासो गरेका थिए । त्यसलगत्तै अर्थमन्त्री महरासमेत प्राधिकरणले कुनै योजना नै नल्याउने, बजेट नै नमाग्ने अनि अर्थले बजेट दिएन भनेर आरोप लगाउने भनेर ज्ञवालीमाथि खनिएका थिए । बैठकमा माओवादी तथा नेपाली कांग्रेसका मन्त्रीहरुले निर्देशक ज्ञवालीले काम गर्न नसकेको भन्दै असफलताको संज्ञा समेत दिएका थिए । तर, बैठकमै प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट उपस्थित भएका पार्टी उपाध्यक्ष भीम रावलले सरकारले नै पुनर्निर्माणसम्बन्धी काममा चासो नदेखाएको भन्दै सरकारको आलोचना गरेका आजको राजधानी दैनिकमा खबर छ ।

बैठकमा निक्कै चर्कै विवाद उत्पन्न भएपछि, सम्बन्धित विभिन्न निकायलाई समेटेर एक समन्वय समिति बनाउने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्री कार्यालयका एक जना, अर्थ मन्त्रालयबाट एक जना र प्राधिकरणबाट एक जना रहने गरी समन्वय समिति बनाउने निर्णय भएको छ । प्रधानमन्त्री दाहालले यसअघि प्राधिकरणका निर्देशक ज्ञवालीलाई प्राधिकरणको योजनाबारे विस्तृत खाका ल्याउन निर्देशन दिएका थिए ।

बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक ज्ञवालीले सबै गाविसहरुमा एक सय जनाका दरले पुनर्निर्माण स्वयंसेवक परिचालन गर्ने, काठमाडौं उपत्यकामा १५ मंसिरभित्र पहिलो किस्ताको अनुदान सम्झौता गर्ने, भूकम्प प्रभावित सबै जिल्लामा १५ माघसम्म पहिलो किस्ताको अनुदान रकम वितरण गरिसक्ने योजना पेश गरेका छन् । यस्तै उनले पहिलो चरणमा २० हजार, दोस्रो चरणमा १० हजार र तेस्रो चरण फागुन मसान्त ३० हजार गरी ६० हजार निर्माणकर्मी उत्पादन गर्नेसहितको कार्ययोजना बैठकमा पेस गरेका छन् ।