काठमाण्डौ । साताको पहिलो कारोबार दिन नै उच्च अंकले गिरावट भई पहिरोको सामना गरेको बजार सोमबार सुधारिए पनि मंगलबार पुनः पुरानै लयमा फर्किएको छ ।

आइतबार ५३ अंकले पहिरो गएको पूँजीबजार सोमबार एक अंकले सुधार भए पनि मंगलबार पुनः दोहोरो अंकले तल झरेको हो । 

बजारमा राम्रा कम्पनीको सेयरको बिक्रीको चाप उच्च रहेकोले बजार निरन्तर घटिरहेको हो । तथापि, आइतबारको तुलनामा मंगलबार खरीदकर्ताहरु पनि केही बढेका विश्लेषक बताउँछन । 

सोमबार बजारमा सुधार भएर १६ सय माथि पुुगेको नेप्से परिसूचक मंगलबार भने २३.८२ अंकले झरेर १५८२.४७ अंकमा झरेको छ । सातोको तेश्रो कारोबार दिन सबै समूहको सूचकमा रातो पोतियो । 

वाणिज्य बैंक समूह २२.३५, बिमा समूह १२४.१५ र विकास बैंक समूह २४.६३ अंकले ओरालो लागे । यसैगरी, होटल समूह ६६.३५, जलविद्युत समू्ह ३३.२५, बित्त समूह १३.७८ र अन्य समूूह ९.८४ अंकले घटे । 

'क' वर्गका कम्पनीहरुको कारोबार खस्किएका कारण सेन्सेटिभ इण्डेक्समा पनि ५.२८ अंकको गिरावट देखियो । 

मंगलबार १३१ कम्पनीको कुल १२ लाख ६९ हजार ६सय कित्ता सेयर ८२ करोड ८२ लाखमा कारोबार भयो । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार वाणिज्य बैंक समूहले मात्रै ४३ करोड बराबरको कारोबार गर्यो । बिमा समूहले २२ करोड बढी तथा विकास बैंकहरुले ११ करोड बढीको कारोबार गरे । 

कम्पनीगत हिसाबले सबैभन्दा बढी मंगलबार पनि एभरेष्ट बैंकले नै कारोबार गर्यो । यो बैंकको ९ करोड १३ लाख बराबरको सेयर किनबेच भयो । नेशनल लाइफ इन्स्योरेन्सले पनि ६ करोड ७९ लाख बराबरको सेयर कारोबार गर्यो । शिखर इन्स्योरेन्सले ३ करोड ७८ लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ३ करोड ७६ लाख, सिद्धार्थ बैंकले २ करोड ५६लाख, सिद्धार्थ डेभलपमेन्ट बैंकले २ करोड ३४ लाख बराबरको कारोबार गरे । मंगलबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ७ स्थानमा वाणिज्य बैंक, २ स्थानमा बिमा कम्पनी र १ स्थानमा विकास बैंकको दबदबा कायम रह्यो ।

\धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार पनि सिर्जना फाइनान्स बित्तीय संस्थाका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, युनियन फाइनान्सको सेयर मूल्य पनि ४ प्रतिशत भन्दा बढीले वृद्धि भयो । 

बियरिस मार्केटमा तीन कम्पनीका लगानीकर्ताले टाउकोमा हात राख्नुपर्ने अवस्था भयो । यी तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतको दरले घट्यो । रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था, नेपाल ग्रामीण विकास बैंक र लक्ष्मी लघुवित्त बित्तीय संस्थाको सेयरमा १० प्रतिशतले पहिरो गएको हो । 

यस्तै, मिसन डेलभपमेन्ट बैंकका लगानीकर्ताले समेत ९ प्रतिशत भन्दा बढीले सम्पत्ति गुमाउनुुपरेको छ । यसैगरी, राप्तिभेरी विकास बैंक सेयर मूल्य ८ प्रतिशतले घट्यो भने सगरमाथा इन्स्योेरेन्सका लगानीकर्ताले पनि ८ प्रतिशतकै हाराहारीमा गुमाउन पुुगे । 

मंगलबार ७ कम्पनीको सेयर मूल्य ५ देखि ६ प्रतिशतको हाराहारीमा घट्यो । अन्य ७ कम्पनीको सम्पत्तिमा ४ देखि ५ प्रतिशतको हाराहारीमा क्षति भयो ।