काठमाण्डौ । राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि पाँंचदिने नेपाल चेम्बर एक्स्पो २०७४ सुरु भएको छ । 

एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी उद्यमीलाई अगाडि बढाउन एक्स्पो सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरिन् । उनले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र उत्साहकासाथ लागिपरेको भन्दै  स्वदेशमै कामदारको कमी भए पनि दैनिक हजारौं युवा विदेशिन बाध्य भएको अवस्थाप्रति चिन्ता प्रकट गरिन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले एक्स्पोबारे जानकारी दिंदै नेपाल चेम्वरले आप्mनो स्थापनाको सुरुआतदेखि नै नेपाल सरकारको उच्चस्तरीय निकायसँग समन्वय गर्दै आएको जानकारी दिए । राष्ट्रिय अर्थतन्त्रको बिकासका लागि जस्तोसुकै बिषम परिस्थितिमा पनि निजी क्षेत्रले सरकारलाई उदारतापूर्वक सहयोग गर्दै आइरहेको उल्लेख गर्दै उनले मुलुुकको आर्थिक विकास लागि सरकारसँग सहकार्य गरी अगाडि बढ्न निजी क्षेत्र सधैं तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

मुलुकमा नयाँ संबिधानको प्राप्ति पश्चात सबैको ध्यान दिगो आर्थिक विकासमा केन्द्रित गरिनु आजको आवश्यकता भएको औंल्याउदै उनले अबको मुलुकको एक मात्र लक्ष्य आर्थिक समृद्धि हुनुपर्नेमा जोड दिए । 

वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले उपभोक्ताको रुचि चाहना विश्लेषण गरी त्यही अनुसार अगाडि बढ्न एक्स्पो सहयोगी हुने विश्वास व्यक्त गरे । 

गणतन्त्र कोरियाका राजदूत पार्क योङ्ग सिकले चेम्वरले गरेको एक्स्पोमा दोश्रो पटक कोरिया पार्टनर मुलुकको रुपमा सहभागी रहेको जानकारी दिंदै एक्स्पो उपयोगी हुने विश्वास व्यक्त गरे ।

चेम्वरले गरेको यो तेश्रो एक्स्पो हो । चेम्वरले प्रत्येक वर्ष यस्ता अन्तर्राष्ट्रिय एक्स्पो गर्दै आएको छ । यसपटकको एक्स्पोमा दक्षिण कोरियाले पार्टनर मुलुकको हैसियतमा सहभागिता जनाएको छ भने थाइल्याण्ड फोकस मुलुुकको रुपमा सहभागी छ । एक्स्पोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठवटा मुलुकहरुको सहभागिता छ । मेलामा कुल दुई सय २५ वटा स्टल छन् । 

मेलामा कृषि, अटोमोवाइल, निर्माणलगायतसँंग सम्वन्धित विभिन्न स्टलहरु रहेका छन् । मेलामा सहभागीले आफूलाई मन परे खरिद गर्न सकिने व्यवस्था पनि मिलाइएको छ । 

पाँंच दिनसम्म चल्ने मेलामा करिव तीन लाख भन्दा बढी अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । मेला मंसिर १८ गते सोमबारसम्म चल्नेछ ।