काठमाण्डौ । विदेशमा ठूलो संख्यामा छरिएर रहेका गैरआवासीय नेपाली(एनआरएन)हरुले संस्थागत रुपमा नेपालको पूँजीबजारमा सुरुवातमै १० अर्ब लगानी गर्ने योजना बनाएका छन् । 

एनआरएनका अध्यक्ष भवन भट्टले धिततोपत्र बोर्डका अधिकारीहरुसँग हालै भएको छलफलमा १० अर्ब लगानीको योजना रहेको खुलाएका हुन् । 

भट्टले विदेशमा ठूलो संख्यामा छरिएर रहेका एनआरएनहरु नेपालको पूँजी बजारमा संस्थागत रुपमा लगानी गर्न इच्छुक रहेकोले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गरिदिन आग्रह गरेका थिए । 

सो अवसरमा बोर्डका अध्यक्ष डा. कार्कीले हालसालै पूँजी बजारमा पूर्ण स्वचालित कारोबार, सार्वजनिक निश्काशनमा स्वतन्त्र मूल्य निर्धारण, विदेशी वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्नसक्ने कानुनी व्यवस्था र बजार विस्तार तथा पहुंचमा बृद्धि जस्ता संरचनात्मक सुधार कार्यहरु भई धितोपत्र बजार लगानीका लागि बढी आकर्षक हुँदै  गएको बताएका थिए । 

उनले एनआरएनको पछिल्लो प्रस्तावलाई सकारात्मक रुपमा लिदै नेपालको धितोपत्र बजारमा एनआरएनलाई सहभागी गराउन आवश्यक नीतिगत व्यवस्था गर्न बोर्डले कार्य अगाडि बढाइसकेको जानकारी गराए । 

डा.कार्कीले एनआरएनका लागि धितोपत्रको दोस्रो बजार खुला गर्ने सम्बन्धमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालयका प्रतिनिधि तथा विज्ञ सम्मिलित समिति गठन भई अध्ययन र प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने सम्बन्धमा बैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा बनाउने काम भइरहेको जानकारी दिए । साथै, एनआरएनले बोर्डबाट के कस्तो अपेक्षा गरेको हो, लिखित रुपमा जानकारी गराउन तथा उपयुक्त व्यवस्था सम्बन्धमा सुझाव समेत पेश गर्न आग्रह गर्दै यस सम्बन्धमा निरन्तर छलफल तथा भेटघाट गर्दै जाने तथा प्राप्त सल्लाह तथा सुझावहरुको सम्बन्धमा अध्ययन गरी आवश्यकताअनुसार उपयुक्त कदम चाल्दै जाने बचन दिए । 

कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष जिवा लामिछाने तथा बोर्डका उच्च पदाधिकारीहरुको समेत सहभागिता थियो ।