-ज्योति दाहाल

केही वर्षअघि राजाको तस्वीर अंकित नोट यथाशीघ्र बैंकमा बुझाई नयाँ नोट लिन केन्द्रीय बैंकले फरमान जारी गर्यो । यसको नकारात्मक असर देखियो । टाठाले अब यस्तो नोट कागज सरह हुन्छ भन्दै सामान्यजनसँग १००० बराबर ८००, ५०० को ४०० यस्तै रितले लिए । अन्तत व्यापक विरोध भयो र सबै नोट यथावत चल्ने बनाइयो । नचल्ने बनाइनुको निहित स्वार्थ कतै हडप्ने दाउ पो थियो कि ?

केही दिन अघि गाउँमा गएको थिएँ । सप्ताह पुराण चलिरहेको स्थानमा संकलन भएको भेटीमा राजाका तस्वीर अंकित नोट पाइएला कि भनेर खोज्दा जम्मा ६ वटा हात पर्यो । यसको मतलब यस्ता नोटहरू करिब करिब सकिएछन् भन्ने बुझ्न कठिन भएन ।

प्रसंगमा धितोपत्र वोर्डले अत्यन्तै क्रान्तिकारी निर्णय गर्दै दुई वर्षअघि अभौतिक शेयर मात्र बेच्न पाइने भन्ने फर्मान पनि नोट जस्तै बजारमा कम शेयर आपूर्ति गराएर भाउ बढाएर अभौतिक मात्र बेच्न पाउने निहित स्वार्थ त थिएन ?

अभौतिक हुनुपर्ने थियो, तर विधि गलत भयो । १०–२० कित्ता शेयर भएकाले पनि झञ्झटिलो अभौतिक गराएर मात्र बेच्न पाउने व्यवस्थाले नागरिकको सम्पत्ति बन्धक बनाउन पाइन्छ ? भौतिक प्रमाणपत्र बनाउन रोक लागिसकेको अवस्थामा भएका कागजी प्रमाणपत्र बेच्न दिएको भए किन्नेले कागजरहित प्राप्त गर्दै जाने हुँदा यतिबेलासम्म कागजी प्रमाणपत्र मैले नोट खोजे जस्तै भैसक्ने थियो ।

लगानीकर्ताका संघसंगठनहरु लगानीकर्ता हित त भन्छ्न सेबोले फैलाएको नाकैमुनिको दुर्गन्ध(अभौतिकको नाममा बन्धक बनेको सम्पत्ति) देख्दैनन् ।

सेबोले यथाशीघ्र हरेक दिन कागजी शेयर बेच्ने निर्देशन देओस र सम्पत्ती बन्धनमुक्त गरिदेओस । संविधान प्रदत्त सम्पतिको अधिकार हनन् गर्ने अधिकार सेबोलाई छैन । सेबो संविधान र कानुन भन्दा माथिको निकाय पनि हैन ।

(दाहाल सेयर बजारसँग सम्बन्धित कानूनका ज्ञाता हुन् ।)