काठमाण्डौ । मंगलबार उकालो लागेको बजारमा बुधबार झिनो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचकमा झिनो गिरावट देखिए पनि कारोबार रकममा भने पहिरो गएको छ । नेप्से परिसूचक र कारोबार रकमको घटबढको यस्तो असमान अवस्था देखिनु आगामी दिनको बजारका लागि खतराको सूचक हुने विश्लेषकहरु बताउँछन् ।

बुधबार नेप्से परिसूचक ०.५७ अंकले घटी १५५३.९४ अंकमा आएको हो । पाँच समूहको परिसूचकमा रातो पोतिएको छ भने बाँकी समूह उक्लिएका छन् ।

सबैभन्दा बढी जलविद्युत समूहको सूचक बढेको छ । यो समूह ३६.५६ अंकले माथि उक्लिएको छ । यस्तै, उत्पादनमूल ९.७८ र अन्य समूह १.७४ अंकले बढेका छन् । 

सबैभन्दा धेरै होटल समूहको सूचक घटेको छ । यो समूह २९.५९ अंकले ओरालो लाग्यो भने बित्त समूह ९.८३, बिमा समूह १७.०५, वाणिज्य बैंक समूह ०.८४ र विकास बैंक ०.७२ अंकले ओरालो लागे । सेन्सेटिभ इण्डेक्स ०.०८ अंकले झर्यो भने फ्लोट इण्डेक्समा चाहि ०.०३ अंकको बढोत्तरी देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार १३७ कम्पनीको ६ लाख ८० हजार ९ सय ८१ कित्ता सेयर ५० करोड ७६ लाखमा कारोबार भएको छ । मंगलबार ७७ करोड १८ लाखको कारोबार भएको थियो । 

बुधबार वाणिज्य बैंकहरुको कारोबार मंगलबारको तुलनामा निकै धेरै घटी २१ करोडको विन्दूमा झरेको छ । बिमा समूूहले १४ करोड ३४ लाखको कारोबार गरे भने विकास बैंक समूहले ९ करोड ५३ लाखको कारोबार गरे । 

कम्पनीगत हिसाबले सबैभन्दा बढी कारोबार शिखर इन्स्योरेन्सले गर्यो । यो कम्पनीले ५ करोड ३२ लाख बराबरको कारोबार भयो । यस्तै, एभरेष्ट बैंकले ३ करोड ६७ लाखको कारोबार गर्यो भने सिद्धार्थ बैंकले ३ करोड ६२ लाखको कारोबार गर्न सफल भयो । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंकले, ३ स्थान बिमा कम्पनी र बाँकी एकस्थान विकास बैंकले कब्जा गरे । 

धेरै कमाउने र गुुमाउने कम्पनी
बुधबार सबैभन्दा बढी एनबी इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, हिमालयन डिस्टीलरी लिमीटेड र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा बढेको छ ।

दुुई कम्पनीको सेयर मूल्यमा पहिरो गएको छ । कर्णाली विकास बैंक र ललितपुर फाइनान्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । अरुण फाइनान्सको सेयर मूल्यमा ८.२२ र पोखरा फाइनान्सको सेयर मूल्यमा ८.०५ प्रतिशतको पहिरो गयो ।