-मनोज ज्ञवाली

अर्थमन्त्रीले शेयर, अटोलोन, घर जग्गा अनुत्पादक भने भनेर यस सम्बन्धमा धेरै टिका टिप्पणी र आँकलनका साथ समाचारहरु आइरहे। हैन यो कुन नौलो कुरा भयो र ? नेपाल राष्ट्रबैकले परिपत्र नं १७ मा स्पष्ट पारेको धेरै समय भयो, अनि आज आएर यसको यति ठूलो चर्चा किन ?

अर्थमन्त्रीले आर्थिक समृद्धिको खाका कोरुन्, उत्पादक क्षेत्रमा लगानी हुने र लगानीको सुरक्षा हुने वातावरण बनोस्। यसले रोजगारी बढाउँछ, प्रतिव्यक्ति आय बढाउँछ, उद्योगधन्दाहरुमा लगानी बढ्नासाथ व्यक्तिहरुको आय बढ्छ, आय बढेमा लगानी र कन्ज्यूमर लोन यसै बढ्छ। आय बढेमा सबैले शेयर, गाडी अनि घर यसै किन्छन्। बैंकहरुको बित्तीय क्षमता बढ्छ। दायरा बढ्छ। आत्तिनु पर्दैन। छिमेकी मुलुकको मात्रै उदाहरण हेरौं न।

शेयर बजारमा पनि यसैले अर्थमन्त्रीले यसो भने, उसो भने भन्दै मानिसहरुलाई अत्याउने काम नगरौं। बाठाहरु त हर हालमा उम्किहाल्छन्। सोझा र सिकारुहरुलाई अत्याउने काम नगरौं।

अर्थमन्त्री ज्यु, बाटो, बिजुली, कलकारखानामा लगानी गर्ने सपना पूरा होस्। हामीले लत्ताकपडा, चामल, तेलदेखि हरेक सामान आयात गरी मान्छेहरु मात्र निर्यात गरेको धेरै भो। गाउँ-गाउँबाट निर्यात गरिएका खुशीहरु फिर्ता गराउने लक्ष्य लिनोस्। हामी १६ प्रतिशतको ब्याज मा कर्जा लिएर घर किन्ने, लगानी गर्ने या गाडी  चढ्ने होईन कमाईबाटै कन्ज्युमर फाइनान्सिङ गर्छौ, तर फाइनान्सिङ रिर्सोसेज सहज बनाईदिनुस्। घुस, बेईमानी र बदमासी बन्द गर्ने खाका तयार पार्नुस्।

मैले पनि अर्थमन्त्रीजीको अन्तरवार्ता सुनेँ । समय सबैभन्दा बलवान छ, यसले सम्बन्ध फेर्छ, सोंच फेर्छ त कसैको बोली पनि फेर्छ। अब बृद्ध भत्ताको सम्बन्धमा फेरिएको बोली झै फेरिन सक्छन्। नेता पारा आयो भने जे पनि बोले भयो। हामीले अर्थमन्त्रीमा गभर्नर को अख्तियारी देख्न जरुरी छैन र उहाँ पनि गभर्नरको धङधङीभन्दा माथि उठ्नु पर्छ।

हजुरुसँग कार्यकर्ताको अभिभारा छैन, न चुनावको बेला खर्च जुटाईदिने ब्यापारीको गुण तिर्न नीतिगत ब्यभिचार गर्नुपर्ने बाध्यता नै छ । लक्ष्य लिनुस् अनि पूरा गर्नुहोस् ।  ज्ञात रहोस् यहाँसंग जनताहरुको अपेक्षा सगरमाथा झै चुलिएको छ, निराश पार्नुहुने छैन ।

(ज्ञवाली ज्योति विकास बैंकको एक्टिङ सीइओ हुन् । यो सामाग्री उनले फेसबुकमा पोस्ट गरेका हुन् ।)