काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारको लगानीलाई ‘अनुत्पादक’ भनेकै कारण आइतबारको बजारमा भीषण पहिरो गएको निश्कर्ष निकाल्दै लगानीकर्ता अक्रोशित र क्रूद्ध भएका छन् । उनीहरुले सेयर बजारको लगानी कसरी अनुत्पादक भयो, त्यो पुष्टि गर्न समेत अर्थमन्त्रीलाई चुनौति दिएका छन् ।
सेयर लगानीकर्ता संघ नेपालले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै अर्थमन्त्रीकै गलत अभिव्यक्तिका कारण बजारमा पहिरो गएको दाबी गर्दै खतिवडाले कि त सेयर बजारलाई अनुत्पादक क्षेत्र कसरी भनेको हो, त्यो पुष्टि गर्नुपर्ने, नभए आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका हुन् ।
संघका अध्यक्ष उत्तम अर्यालद्वारा जारी विज्ञप्तिमा देशमा आर्थिक विकासको एजेण्डा बोकेको सरकारकै गलत नीतिका कारण बजारमा पहिरो गएको समेत ठहर गरिएको छ । ‘तीनखम्बे अर्थ नीतिका पक्षपाती नवनियुक्त अर्थमन्त्रीबाट पूँजीबजारको बारेमा बारम्बार नकारात्मक टिप्पणीहरु धाराप्रवाह रुपमा आइरहनु, देशमा विद्यमान तरलताको समाधानमा कुनै प्रकारको चासो नदेखाउनुुले सरकारको पूँजीबजारप्रतिको धारणा के हो भन्ने शंका उब्जिएको छ ।’ विज्ञप्तिमा भनिएको छ–‘सरकारको प्रष्ट धारणा नहुँदा करिब २० लाख सर्वसाधारण जनताको लगानी रहेको र आजका मितिमा १६ खर्बको पूँजीबजारलाई अर्थमन्त्रीज्यूूबाट निरुत्साहित तुल्याउने वातावरण सिर्जना गर्नु दुुर्भाग्यपूर्ण र निन्दनीय छ ।’
संघले निजी क्षेत्र र लगानीकर्तालाई निरुत्साहित बनाउने हो भने सरकारको तीन खम्बे आर्थिक नीति सफल नहुने समेत प्रष्ट पारेको छ ।
संघले पूँजीबजारबाट लगानी जुटाउँदै नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिंदै आएको चिलिमे जलविद्युत आयोजना, माथिल्लो तामाकोशी जलविद्युत केन्द्र र हाल संचालित विभिन्न जलविद्युत आयोजनाहरुमा गरिएको लगानी कसरी अनुत्पादक हो भन्ने प्रश्न गर्दै अगाडि भनेको छ–‘बैंक तथा बित्तीय संस्था खोलेर हाइड्रो, कृषि, वनपैदावर जस्ता मन्त्रीजीको भाषामा उत्पादनशील क्षेत्र, तर त्यसका लागि पूँजी जुटाउने, त्यसको व्यवस्थापन गर्ने देशमा विद्यमान बेरोजगार समस्यालाई समाधान गर्दै करिब ५० हजार युवालाई रोजगारी दिने खोलेका बैंक तथा बित्तीय संस्थाका सेयरहरु चाहि कसरी अनुत्पादक ?’
संघले बजारमा तत्काल सुधार गर्नुपर्ने केही बुँदाहरुको बिषयमा समेत सरकारको ध्यानाकर्षण गराएको छ । अनलाइन कारोबार प्रणालीको शीघ्र थालनी, बजार निर्माताको रुपमा व्यवसायिक संघसंस्थालाई बजारमा प्रवेश गराउने वातावरणको निर्माण, गैरआवासीय नेपालीहरुलाई पूँजीबजारमा भित्र्याउने पहलको थालनी, बैंक तथा बित्तीय संस्थाहरुलाई ब्रोकर लाइसेन्स दिने व्यवस्थाको सुरुवात हुनुपर्ने माग गरिएको छ । यस्तै, सेयर धितोमा दिइंदै आएको ७० प्रतिशत मार्जिन कर्जालाई बिनाकारण ५० प्रतिशतमा झारिएको उल्लेख गर्दै त्यसलाई पुनः ७० प्रतिशत कायम गरिनुपर्ने, प्राथमिक पूँजीकोषमा २ अर्ब बैंकको पूँजी हुँदा १०० प्रतिशत कर्जा उपलब्ध गराउँदै आएकोमा ८ अर्ब पूँजी पुुग्दा समेत ४० प्रतिशत कायम भएकोले पुनः १०० प्रतिशत कायम गर्नुपर्ने र सेयर ऋणमा कायम गरिएको औसत भार १५० प्रतिशतबाट १०० प्रतिशत कायम गर्नुपर्ने माग पनि संघले गरेको छ ।
संघले सेयर खरीदबिक्रीको क्रममा कसैको लहै लहैमा नलाग्न आम लगानीकर्तालाई समेत आग्रह गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19