काठमाण्डौ । भूकम्प अतिप्रभावित ११ जिल्लामा खटिएका इन्जिनियर, ओभरसियर र सवओभरसियरले पुस ४ गतेसम्म माग पूरा नभए ५ गतेदेखि सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।

पुनःनिर्माणमा खटिएका प्राविधिकले पटक पटक राखेका माग पूरा नभएकाले स्थलगत रुपमा काम गर्ने वातावरण नभएको भन्दै उनीहरुले राजीनामा दिने घोषणा गरेका हुन् ।

लाभग्राहीले राखेका गुनासाको सुनुवाइ, प्रकृति सुहाउँदो डिजाइन प्रविधि १७ प्रकारकोभन्दा उपयुक्त व्यवस्था, दोस्रो र तेस्रो किस्ताको रकम सिफारिसका लागि आवश्यक कार्यविधि तत्काल पारित गर्नुपर्ने प्राविधिकको माग छ । दोस्रो र तेस्रो किस्ताको रकम इन्जिनियरले नै दिने भूकम्पपीडितमा सन्देश गएको तर आफूहरुलाई यसको प्रक्रियाबारे राम्रोसँग जानकारी नगराइएको इन्जिनियर कपिल रेग्मीले गुनासो गरे।

जिल्ला, नगरपालिका, स्रोतकेन्द्र र गाउँमा खटिएका प्राविधिकसँग पीडितले सल्लाह लिने, दिने प्रयोजनका लागि कार्यालयको व्यवस्था, प्राविधिकलाई बस्ने ठाउँको व्यवस्था, पुनःनिर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण सुविधा र सामग्रीको व्यवस्था गरिनुपर्ने इन्जिनियर सञ्जीव अम्गाईंले बताए।

“गाउँ गाउँमा सुरक्षासहित काम गर्ने वातावरण तयार पार्नुका साथै बिमाको व्यवस्था गरिनुपर्छ,” उनले भने। पुनःनिर्माणसम्बन्धी ऐन, २०७२ को दफा १४ को उपदफा ६ मा व्यवस्था भएअनुसार प्राधिकरण कार्यकारी समितिले सरकारबाट उपलब्ध गराइएको कर्मचारीलाई थप सुविधा (तलब, भत्ता, सञ्चार खर्च, यातायात सुविधा) उपलब्ध गराउन निर्देशक समितिले कात्तिक १० र मङ्सिर ५ गते गरेको निर्णय अवैज्ञानिक भएको इन्जिनियरहरुको भनाइ छ ।

कार्यसम्पादन मापनको आधारमा प्रोत्साहन भत्ता दिइनुपर्ने प्राविधिकले माग गरेका छन् । नेपाल इन्जिनियर्स एसोसिएसन कार्यसमिति सदस्य अनुप गौतमले पुनःनिर्माणमा खटिएका प्राविधिकको मागप्रति सङ्गठनको ऐक्यबद्धता रहेको बताए। पुनःनिर्माणका लागि खटिएका दुई हजार ५७१ प्राविधिक मध्ये काम गर्ने वातावरण नबनाइदिँदा २२० जनाले काम छाेडिसकेका छन् ।