काठमाण्डौ । सेयर कारोबार हुने दोश्रो बजारको समयअवधि एकघण्टा थपिने भएको छ । 

धितोपत्र बोर्डले कारोबार अवधि एकघण्टा थप्ने सबै तयारी पूरा गरिसकेको र निकट भविष्यमै यो सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिएका छन्  । 

हाल दोश्रो बजारमा सेयर कारोबार अवधि प्रत्येक आइतबारदेखि बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ । 

बोर्डले यो समयमा एकघण्टा थप्न खोजेको हो । 

अध्यक्ष ढुंगानाका अनुसार अब बिहान १०ः३० बजेदेखि बजार खुल्नेछ र दिउँसो ३ः३० बजे बजार बन्द हुनेछ । 

धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएलगत्तै नेप्सेको वार्षिकोत्सव समारोहमा सम्बोधन गर्ने क्रममा ढुंगानाले नेपालको दोश्रो बजारमा सेयर कारोबार गर्ने समय कम भएको भन्दै अवधि थप्नुपर्ने बताएका थिए । उनको सोही प्रतिबद्धता कार्यान्वयन हुन लागेको हो । 

दोश्रो बजारको कारोबार समय थपिएपछि बजारको विकास र विस्तारमा थप टेवा पुग्ने बोर्डको विश्वास छ । 

लगानीकर्ताले समेत विगत लामो समयदेखि कारोबार अवधि कम भएको भन्दै यसमा समय थप्नुपर्ने माग उठाउँदै आएका थिए ।