-भक्तराज रसाइली
काठमाण्डौ । काठमाण्डौको अनामनगरस्थित दीपशिखा धितोपत्र कारोबार कम्पनी प्रा.लि. अर्थात् ब्रोकर नम्बर ३८ का महाप्रबन्धक विष्णुराज ओझा हुन् । धनगढी नगरपालिका कैलाली स्थायी घर भएका ओझा हाल काठमाण्डौ २९ अनामनगरमा बस्छन् । उनले नेपाल कमर्श क्याम्पस मीनभवनबाट एमबीएस उत्तीर्ण गरेका हुन् ।

पर्सनल ब्रोडब्याड नेपाल नामक मल्टीनेसनल कम्पनीमा मार्केटिङ्ग प्रमुख भई ३ वर्ष अनि ब्रोकर नम्बर १० मा मेनेजर भई ६/७ वर्षको अनुभव लगायत थुप्रै अनुभवहरु सँगाल्दै धितोपत्र व्यवसायीहरुको भीडमा उनले एक पृथक ब्रोकरको पहिचान बनाएका छन् । 

वि.सं.२०६४ सालमा दर्ता भई २०६८ सालदेखि सञ्चालन गरेका ओझाको ब्रोकर कम्पनीमा २ जना प्रमोटर छन् । २ करोड चुक्तापूँजी रहेको कम्पनीको नेटवर्थ साढे ८ करोड पुगिसकेको छ । ब्रोकरहरुमध्ये सबैभन्दा बढी नेटवर्थ आफ्नै कम्पनीको रहेको ओझाको दाबी छ । 

कम्पनीको शाखा कार्यालय धनगढीको चौराहास्थित युग प्लाजामा सञ्चालित छ भने महेन्द्रनगरमा छिट्टै शाखा सञ्चालन गर्न लागिएको ओझाले जानकारी दिए । 

एक्काईस कर्मचारीहरु रहेको यो ब्रोकर कम्पनीले थप १२ वटा शाखा विस्तारका लागि धितोपत्र बोर्डमा माग गरेको छ । 

ओझाको अनामनगरस्थित ब्रोकरेज हाउसमा दैनिक औसत ६० जनाले सेयर खरिदबिक्रीमा सक्रियता देखाएकामा औसत ६५ जनाको बाक्लो उपस्थिति रहने गरेको छ । कुल कारोबारीमध्ये ६० प्रतिशत लगानीकर्ताले अनलाइन कारोबार हुने गरेकोमा ओझाले ब्रोकरहरुमध्ये सबैभन्दा बढी अनलाइन कारोबारी आफूमै भएको दाबी समेत गरे ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दीपशिखाले ४६ करोडको खरिद र ५६ करोड रुपैयाँ बराबरको बिक्री गरी कुल १८८ कम्पनीको सेयर कारोबार गरेको छ । 

ब्रोकरहरुमध्ये सबैभन्दा जेठो डीपी आफूहरु नै भएको दाबी गरेका महाप्रबन्धक ओझाले २०७१ साल असोज १३ गतेदेखि डीपी सेवा समेत दिइरहेको सुनाए । जसमध्ये जम्मा २६ हजार ६ सय २३ जनाले डिम्याट खोलेकामा संस्थागत ७० वटा डिम्याटधारी छन् ।  दीपशिखामा १० हजार ३ सय १३ जनाले केवाइसी अपडेट गरेका छन् । 

आफूलाई औसत कारोबारी ब्रोकर ठान्ने कम्पनीको बलियो पक्ष भनेकै सन्तुष्ट ग्राहक रहेको ओझाको दाबी छ । आफ्नो ब्रोकरेज हाउसमा पूर्ण पारिवारिक वातावरण रहेको समेत उनले बताए । 

पूँजी बजारको भविष्य र अवसर नेपालमा अथाह भएको चाल पाएका ओझाले आर्थिक क्रियाकलाप बुझ्न र जोशिएर ब्रोकर पेशा अँगाल्न पुगेको बताए । 

लगानीकर्ताहरुको हितलाई नै मुख्य केन्द्रबिन्दू ठानेर अहिले यो स्थानमा पुग्न पाएकामा उनी खुशी छन् ।

आफ्नो ब्रोकरेज हाउसमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म कार्यालय सञ्चालन समयमा उपस्थित ग्राहकहरुलाई ८ घण्टा नै चियापानीको व्यवस्था रहेको ओझा बताउँछन् । 

उचित समयमा ग्राहकहरुले भनेकै मूल्यमा किनबेच गरिदिने र लगानीकर्ताहरुलाई मीठो बोली र सुविधायुक्त सिट अनि विभिन्न विभागमा कर्मचारीहरुको सहज उपलब्धता भएको ओझाले सुनाए । 

उनले एउटा क्याबिन त लाखौं खर्चेर उच्च सुविधायुक्त सोफासहितको व्यवस्था गरिदिएका छन्, जसलाई उनले भीभीआइपी कक्षको रुपमा स्थापना गरेका छन् । शान्त वातावरणमा सेयर बजारबारे बहस गर्न सुविधा दिने हेतूले यस्तो व्यवस्था गरिएको उनले सुनाए । 

यसका अलावा उनको ब्रोकर कम्पनीमा अपाङ्ग, महिला, बृद्धमैत्री कारोबार सेवाको समेत व्यवस्था रहेको छ । लगानीकर्ताहरुको नाफालाई महत्व दिइने हुनाले समेत ब्रोकर नम्बर ३८ बाट एकपटक सेवा लिन ओझाको आग्रह छ ।

परामर्श सेवा, पोर्टफोलियो व्यवस्थापन, रियल स्टेट र इन्सुरेन्स एजेन्ट लगायतका विविध क्षेत्रमा ब्रोकर कम्पनीहरुले काम गर्ने अवसर पाउनुपर्ने उनको माग छ । 

नियामक सेबोन र नेप्सेले अभिभावकको भूमिका निर्वाह गरिरहेका र आगामी दिनमा समेत यस्तै किसिमका भूमिका र मार्गदर्शनको अपेक्षा गरेको उनले बताए ।

 

ओझाले सम्पत्ति हस्तारण गर्ने महत्वपूर्ण ठाउँ पूँजीबजार भएको र यसले मुलुककै आर्थिक समृद्धिलाई टेवा दिने भएकोले यसको विकास र बिस्तार तथा आधुनिकीकरणका लागि सबै पक्षबाट सक्दो पहल हुनुपर्नेमा जोड दिए।

नियामकको अहिलेसम्म कुनै कार्वाहीमा नपरेतापनि सेबोन र नेप्सेले वासलात बुझाउन ढिला गर्दा चिठ्ठी काटेका स्मरण गरे । हालसम्म आफूहरुको कारोबार निलम्बनमा नपरेको ओझाको दाबी छ ।

पूँजीबजारलाई विस्तार गर्न अविलम्ब एनआरएनए(गैरआवासीय नेपाली) भित्र्याउनुपर्नेमा ओझाको जोड छ । बैदेशिक लगानी समेत पूँजी बजारमा सहजै भित्र्याउने बाटोहरु बनाइदिनुपर्ने उनको भनाई छ ।

इन्साइडर ट्रेडिङ्ग(भित्री कारोबार)को कानून नबनाई बैंकलाई लाइसेन्स दिनु राम्रो नभएको ओझाको दाबी थियो । 

सेयर खरिदबिक्रीको रकम भुक्तानी प्रिपेमेन्ट सिस्टम बनाएपछि मात्र बैंकलाई ब्रोकर लाइसेन्स दिन उनले सुझाए ।

मानवीय त्रूटि र विविध कारणले क्लोजआउट पर्ने भएकाले यसका लागि अक्सन मार्केट अविलम्ब सुचारु गर्नुपर्ने ओझाको धारणा छ । 

नेपालको सेयर बजार बामे सरिरहेको उल्लेख गर्दै यसको भविष्य उज्वल रहेको उनको दाबी छ । 

लगानीकर्ताका आँखामा ब्रोकर नम्बर ३८ 
गोपालप्रसाद ओली-कुमारीपाटी(सक्रिय लगानीकर्ता)-४० वर्ष
-म यहाँ स्थापनाकालदेखिकै ग्राहक हुँ । एकदम राम्रो छ । अन्य ब्रोकरमध्ये सेवासुविधाबाट सन्तुष्टि छु । यहाँ सबैजना सहयोगी हुनुहुन्छ । मार्जिन कारोबार पाउने व्यग्र प्रतीक्षामा छु । म १० नम्बरमा ९ दिन चाहन्छु ।

मिलन श्रेष्ठ जोशी-सातदोबाटो(गृहिणी)-३८ वर्ष
-विगत ४ वर्षदेखि यहाँ धाइरहेकी छु । ब्रोकर नम्बर ३८ राम्रो लाग्छ । अत्यन्तै खुशी पनि छु । मार्जिन ट्रेडिङ्ग गर्न पाए हुन्थ्यो । म  १० नम्बरमा ९ नम्बर दिन चाहन्छु । 

कल्पना बराल-ललितपुर(गृहिणी)-४३ वर्ष
-सुरुदेखि नै म यहाँको नियमित र सक्रिय ग्राहक हुँ । यहाँको सेवासुविधा ठीकै छ । म १० नम्बरमा ९ नम्बर दिन चाहन्छु ।

युजन बजिमय-मीनभवन(सक्रिय लगानीकर्ता)-४० वर्ष
-अहिलेसम्म यहाँको सेवासुविधा राम्रो छ । सबैजना मित्रवत् हुनुहुन्छ । सन्तुष्ट छु । मैले १० नम्बरमा ८ नम्बर दिन चाहेँ ।