-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका पुराना ब्रोकर कम्पनीमध्येको एक ब्रोकर नम्बर १३ अर्थात् थ्राईभ ब्रोकरेज हाउस प्रा.लि.को नामबाट संचालन गरी धितोपत्र कारोबार गर्दै आएको छ ।  

कम्पनीको कार्यकारी निर्देशकका रुपमा अनोजराज पौड्याल रहेका छन् । पिता पुरुषोत्तम पौड्यालका ज्येष्ठ पुत्र अनोज काठमाण्डौ ६ बौद्धका बासिन्दा हुन् । उनले पिताले स्थापना गरेको यो कम्पनीको कमाण्ड सम्हालिरहेका हुन् । 

पौड्यालले शंकरदेव क्याम्पसबाट स्नातक तहको अध्ययन गरेपछि एक अन्तर्राष्ट्रिय मल्टीनेसनल कम्पनीमा करिब ४ वर्ष मार्केटिङको अनुभव सँगाले । 

पारिवारिक लगानीबाट सञ्चालित यो ब्रोकर कम्पनीमा उनले २०५८ सालदेखि सक्रिय भई काम सुरु गरेका थिए ।

पाँचजना प्रमोटर रहेको कम्पनीको चुक्तापूँजी करिब ३ करोड रहेको छ । सर्वप्रथम नेपालमा लाइसेन्स दिइएका २५ स्टक ब्रोकर कम्पनीहरुमध्ये १३ औं कम्पनीका रुपमा यो ब्रोकरेज हाउसले विगत २२ वर्षदेखि हाल काठमाण्डौ १ नक्सालस्थित बच्चापोखरी मार्गमा कार्यालय स्थापना गरी सुव्यवस्थित रुपमा ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

कम्पनीमा १८ जना कर्मचारीहरु कार्यरत रहेका छन् । पोखराको गैरेपाटनमा समेत शाखा रहेको कम्पनीले भैरहवा र बनेपामा शाखा सञ्चालनका लागि आवेदन दिएको छ । 

यो कम्पनी एडीबी, आईएफसी, ओवरोय होटल, केडीबी(कोरिया डेभलपमेन्ट बैंक) जस्ता विभिन्न ठूला अन्तर्राष्ट्रिय संघ–संस्थाहरुको स्टक ब्रोकरको रुपमा कार्यानुभव बटुलिसकेको कम्पनीका रुपमा परिचित छ । यी कम्पनीहरुको नेपालका कम्पनीहरुमा होल्ड भएका सेयर आफ्नै ब्रोकरेज हाउसबाट बिक्री गरेको पौडेलको दाबी छ । 

व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुलाई कम्पनीले सन्तोषजनक , व्यवस्थित, छिटोछरितो एवं पारदर्शी सेवा प्रदान गर्दै आएकोमा  सेयर बजारको विकास एवं विस्तारका लागि गरिने विभिन्न प्रदशर्नीहरु, लगानीकर्ता प्रशिक्षण, लगानीकर्ता सचेतना जस्ता विभिन्न कार्यक्रकमहरुमा पनि कम्पनीको संलग्नता रहने गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्वका काममा पनि कम्पनीको सक्रियता अनुकरणीय छ।  

डीपीसम्बन्धी सम्पूर्ण सेवा सुविधा दिन नेपाल डीपी लिमिटेडको संस्थापक प्रवद्र्धक कम्पनी रहेकोमा थ्राईभमा कुल ३ हजार ९ सय कारोबारी खाता रहेको छ । कार्यालयमा दैनिक ५० जना सेवाग्राहीको उपस्थिति रहने गरेकोमा दैनिक १ सय जनाले कम्पनीमार्फत सेवा लिइरहेका कार्यकारी निर्देशक पौड्यालको दाबी छ । 

आफ्नो स्थान मध्यम ब्रोकरका रुपमा रहेको बताउने उनले इमान्दारिता नै बलियो पक्ष रहेको बताए । ‘नियम विपरीत कुनै काम गर्दैनौं, यही नै ठूलो कुरा लाग्छ ।’–उनले भने ।

आफ्ना बुवाले भनेको ‘सादा खाना बनारस रहना’ सिद्धान्तलाई नै पक्रेर व्यवसायमा दत्तचित्त भई काम गरिरहेको उनको बुझाई छ ।

मार्केटिङ सर्भिससँग सम्बन्धित काम गर्न रुचाउने पौड्यालले ब्रोकर पेशा पनि सेवामूलक र कमाइका हिसाबले पनि राम्रो लागेकाले आकर्षित भएको सुनाए । 

आइपीओमा मात्र लगानी गरिरहेको दाबी गर्ने पौड्यालले आफू ट्रेडमा बस्दा आफ्नो नाममा दोस्रो बजारबाट सेयर किन्न मनले नमानेका कारण आफू स्वच्छ छविमै बस्ने सुनाए । 

निकट भविष्यमा ५ करोड चुक्ता पूँजी बनाएर मार्जिन कारोबार सुविधा दिइन लागको उल्लेख गर्दै कम्पनीले डिस्प्ले रुममा सिट आरक्षणको सुविधा, गुनासो सुृन्ने व्यवस्था, बैंक ट्रान्सफर सुविधा लगायतका सुविधा दिंदै आएको छ । बिहान ९ः३० देखि बेलुकी ६ बजेसम्म कार्यालय समय रहेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १ सय ८३ कम्पनीको खरिदतर्फ २१ करोड ४८ लाख ७९ हजार ४ सय ३२ र बिक्रीतर्फ २६ करोड ८९ लाख ८७ हजार ३ सय ५० रुपैयाँ बराबरको कारोबार गरेको जानकारी दिएको छ ।

नेपालको पूँजी बजार अन्य क्षेत्रभन्दा विशेष आकर्षणको क्षेत्र भएको उल्लेख गर्दैै पौड्यालले भने–‘पूँजीबजार अर्थतन्त्रकै महत्वपूर्ण हिस्सा हो र यसले सबै क्षेत्रलाई समेटेको हुन्छ ।’

नेप्सेको अनलाइन कारोबारमा सबै लगानीकर्ताहरुको सहभागितामा जोड दिदै एनआरएनएका लागि पूँजीबजारमा लगानीको वातावरण बनाइदिएको खण्डमा नेपालको पूँजीबजारले फड्को मार्ने पौड्यालको धारणा छ । 

क्लोज आउटको समस्याले विकराल रुप दिइरहेको र नेप्सेले अक्सन मार्केटको व्यवस्था चाँडोभन्दा चाँडो गरी हल निकाल्नुपर्नेमा उनले जोड दिए ।

मुलुकभित्र उद्योगधन्दाको स्थापनना राज्यले गर्दै निर्यात बढाउनुपर्ने बताउँदै ब्याजदर लचकता र घरजग्गा व्यवसायलाई व्यवस्थित गर्नुपर्ने र अर्थतन्त्रमा परेको सकारात्मक प्रभावले सेयर बजारलाई राम्रो हुने उनले विचार राखे ।

आधिकारिक निकायबाट सार्वजनिक भएको सूचना तथा जानकारीले मात्र लगानीकर्ताको हित गर्ने उल्लेख गर्दै उनले विश्वास गरेर ढुक्क भई १३ नम्बरबाट ब्रोकरेज सेवा लिन लगानीकर्तालाई आह्वान समेत गरे ।

ब्रोकर नम्बर १३ को विषयमा के भन्छन् लगानीकर्ता ?
मधुप्रसाद ढुंगाना(पूर्व निजामती कर्मचारी) चावहिल-६२ वर्ष
विगत ९ वर्षदेखि सेयर बजारमा सक्रिय रहँदै आएको मैले यहाँबाट ६ वर्षदेखि कारोबार गर्दै आएको छु । सबै सुविधाहरु चित्तबुझ्दो छ । मार्जिन कारोबार सुविधा यहीँबाट लिन पाए हुन्थ्यो ।  समग्रमा सबै राम्रो छ । म १० नम्बरमा ७ नम्बर दिन चाहन्छु ।

ईश्वर महर्जन(व्यापारी)मैतीदेवी-३४ वर्ष 
म ५ वर्षदेखि सेयर बजारमा सक्रिय रहँदै आएकोमा विगत ३ वर्षदेखि १३ नम्बर धाइरहेको छु । अरु ठाउँ हेरी यहाँ एकदमै राम्रो छ । इन्टरनेट चाहिँ थोरै फास्ट चल्ने बनाइदिन आग्रह गर्दछु । मैले १० नम्बरमा ७ नम्बर नै दिन चाहन्छु ।

विद्याकुमारी शर्मा(पूर्वशिक्षिका)चुच्चेपाटी-६१ वर्ष
विगत १९ वर्षदेखि प्राथमिक बजारमा होमिएकी मैले १३ नम्बरबाट दोश्रो बजारमा कारोबार गरेको र यहाँदेखि सेयर किनबेचमा ७ वर्ष भयो । सेवासुविधादेखि सन्तुष्ट नै छु । मार्जिन लोन लिन यहाँबाट पाए सजिलो हुन्थ्यो । मैले १० नम्बरमा ८ नम्बर दिन दिन्छु ।

बाबुराम गिरी(सक्रिय लगानीकर्ता)कपन-४० वर्ष
म सेयर मार्केट प्रवेश गरेको र १३ नम्बरबाट कारोबार गरेको १० वर्षजति भयो । यहाँ सबै एजुकेटेड पर्सन आउने र मित्रवत व्यवहार र सही सूचनाहरु आदानप्रदान हुने भएकाले ठीक लाग्छ । ब्रोकरका अन्य सेवासुविधा पनि लिन पाए हुन्थ्यो । समग्रमा सेवासुविधाप्रति सन्तुष्ट र ठीकै लाग्छ । म १० नम्बरमा ८ नम्बर दिन्छु ।