काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अजोड इन्स्योरेन्स र रिडी पावर कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। 

नेप्सेको आजको निर्णयबाट अजोड इन्स्योरेन्स र रिडी पावरको सेयर कारोबार फुकुवा भएको छ। अब यी दुवै कम्पनीको सेयर भोलि सोमबारबाट कारोबारमा आउनेछन्। 

प्रभु इन्स्योरेन्ससँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता गरेसँगै अजोड इन्स्योरेन्सको सेयर नेप्सेले गत साउन १ गतेदेखि रोक्का राखेको थियो। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हालै ल्याएको मर्जरसम्बन्धी कार्यविधिमा यसअघि मर्जर प्रयोजनका लागि रोक्का रहेको सेयर कारोबार फुकुवा गर्न सकिने व्यवस्था गरेको छ। 

सोही व्यवस्थाबमोजिम अजोड इन्स्योरेन्सले नियामक निकायको स्वीकृतिमा सेयर कारोबार फुकुवा गर्न नेप्सेलाई आग्रह गरेको थियो। सोहीअनुसार नेप्सेले आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीहरुको सेयर कारोबार फुकुवा गरेको हो। 

उता कारोबार समयमा सञ्चालक समितिको बैठक बसेर लाभांश घोषणा गरी कारोबार समयपछि सूचना पठाएको भन्दै नेप्सेले गत मंसिर ७ गते रिडी पावरमाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण पठाउन निर्देशन दिएको थियो। 

रिडी पावरले आज मंसिर १८ गते पत्र पठाउँदै अबदेखि यस्तो कमी–कमजोरी नगर्ने प्रतिबद्धता जनाएपछि सचेत गराउँदै कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।