Bearish Market
काठमाण्डौ । सरकार बिस्तारमा ढिलाई र बढ्दो क्रेडिट क्रञ्चको गम्भीर असर बजारमा देखिन थालेको छ । अधिकांश ठूला लगानीकर्ता सरकारले पूर्णता पाएसँगै अर्थमन्त्रालयको बागडोर सम्हाल्ने व्यक्ति र उसले सेयर बजारको बिषयमा लिने नीतिको प्रतिक्षामा छन् ।
एउटा मात्र कम्पनीले ९ करोडको हाराहारीमा कारोबार गर्दा बाँकी अन्य कम्पनीको कुल कारोबार २० करोडमा सीमित बन्नुु खतराको संकेत हो ।
यही बेला बजारमा लगानीयोग्य रकम अभाव भई बैंक तथा बित्तीय संस्थाहरु लगानी बिस्तार गर्न नसक्ने अवस्थामा पुुगेका छन् । बैंक तथा बित्तीय संस्थाहरुसँग लगानीयोग्य रकमको अभाव हुँदा ब्याजदर बढेर निकै माथि पुुगिसकेको छ, जसको गम्भीर असर लगानीकर्ताको मनोवलमा समेत देखिएको छ । पछिल्लो समय लगानीकर्ताको मनोबल निरन्तर खस्किरहेको छ । उनीहरुको गिर्दो मनोबललाई उठाउने र घट्दो बजारबाट आहात लगानीकर्तालाई मल्हमपट्टीको काम गर्ने ठानिएको सरकार बिस्तार, सरकारको आर्थिक तथा सेयर बजारसँग सम्बन्धित नीतिको सार्वजनिकीकरण लगायतका बिषयले अझै पनि गति लिन सकेका छैनन् ।
माओवादी र एमालेभित्रको आन्तरिक कलहका कारण शुक्रबारसम्म सरकार बिस्तार हुने योजना तुहियो । आइतबारसम्म होला भनिएको सरकार बिस्तार समेत बजार बन्द हुँदा समेत हुन सकेको छैन । यसले ओली नेतृत्वको सरकारले पनि आर्थिक विकास र सेयर बजारको उन्नतिका लागि माखो पो नमार्ने हो कि भन्ने आशंका लगानीकर्तामा पैदा भएको देखिएको छ ।
एकातिर सरकार बिस्तार नहुँदा बजारमा त्यसको असर परेको छ भने विभागीय मन्त्री नहुँदा राष्ट्रबैंकले मात्रै जारी लगानीयोग्य पूँजीको अभावको समस्या हटाउन सकेको छैन(चाहेको छैन) । यसले समेत बजारमा गम्भीर असर परिरहेको देखिएको विश्लेषकहरुले बताइरहेका छन् । बजारका कतिपय प्राविधिक विश्लेषकहरुले बजारको अहिलेको अवस्थाले निकट भविष्यमै ठूलो उथलपुुथल हुनसक्ने अवस्थातर्फ संकेत गरिरहेको दाबी समेत गर्न थालेका छन् ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ भने कारोबार(टर्नओभर) रकम पनि घटेर निकै तल आइपुुगेको छ । यो दिन नेप्से परिसूचक १२.२५ अंकले घटी १३७४.७३ विन्दूमा सीमित भएको छ । यस्तै, कारोबार रकम समेत घटेर २९ करोड १८ लाखमा झरेको छ । एउटा मात्र कम्पनीले ९ करोडको हाराहारीमा कारोबार गर्दा बाँकी अन्य कम्पनीको कुल कारोबार २० करोडमा सीमित बन्नुु खतराको संकेत हो ।
यो दिन होटल समूहको सूचक १.७१ अंकले बढे पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो । बैकिङ समूह १३.६५ अंकले घट्यो भने बिमा समूह ४५.२७ अंक, विकास बैंक १०.५, माइक्रोफाइनान्स समूह १२.९, बित्त समूह २.४३, जलविद्युत समूह १५.६७, उत्पादनमूलक ५.७३ र अन्य समूह ३.९७ अंकले घटे ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्समा २.६७ अंकको गिरावट देखियो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.९१ ऋंकले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १४६ कम्पनीका ५ लाख २८ हजार ६ सय ४० कित्ता सेयर २९ करोड १८ लाख १७ हजार १ सय ८ रुपैयाँमा किनबेच भयो ।
यो दिन राष्ट्रिय बिमा कम्पनी लिमीटेडले मात्रै ९ करोडको हाराहारीमा कारोबार गर्यो । यो कम्पनीको ५ करोड ४७ लाख बढीको संस्थापक सेयर र ३ करोड ४३ लाख बढीको साधारण सेयर किनबेच भयो ।
यस्तै, नवील बैंकले १ करोड १३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ९ लाख, स्ट्याण्डर्ड चार्टर्डले ९० लाख, इन्भेष्टमेन्ट बैंकले ८७ लाख, सिद्धार्थ बैंकले ८४ लाख, नेपाल बंैकले ७९ लाखको हाराहारीमा कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा १४६ कम्पनीको सेयर कारोबार भए पनि १२६ कम्पनीले गुमाए भने २० कम्पनीको मूल्यमा मात्र झिनो बढोत्तरी देखियो ।
यो दिन सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य २ प्रतिशतले वृद्धि भयो । स्वदेशी लघुवित्त संस्था, काबेली विकास बैंक र ओरिएन्टल होटल लिमीटेडको सेयर मूल्यमा पनि २ प्रतिशतकै हाराहारीमा बढोत्तरी भयो ।
यो दिन सूर्य लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घट्यो । तारागाउँ रिजेन्सी होटल र सेञ्चुरी कमर्सियल बैंकको मूल्य समेत ४ प्रतिशतकै हाराहारीमा घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago