काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा व्यवस्था भएका सेयर बजारसँग सम्बन्धित कतिपय प्रावधानहरुका कारण बजारमा नकारात्मक असर परे पुनरावलोकन हुने वचन दिएका छन्।

नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघको संयुक्त प्रतिनिधिमण्डललाई भेट दिँदै अर्थमन्त्री शर्माले कुनै पनि कारणले बजारलाई प्यानिक हुन नदिने वचन दिएका हुन्। 

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै एक व्यक्ति वा संस्थाले एक बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँबराबरको मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेको थियो। यो व्यवस्था कार्यान्वयनका लागि निश्चित समय दिइने मौद्रिक नीतिमा उल्लेख छ।

सोही व्यवस्थाका कारण बजारका लगानीकर्ता प्यानिक हुने भन्दै सेयर लगानीकर्ताहरुले अर्थमन्त्री शर्मालाई भेट गरी ज्ञापनपत्रसमेत बुझाएका छन्। आफ्नो लयमा कुदिरहेको बजारलाई राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निरुत्साहित पार्न खोजेको भन्दै उनीहरुले अधिकतम सेयर धितो कर्जाको सीमासँग सम्बन्धित व्यवस्था खारेज हुनुपर्ने माग गरेका छन्। 

लगानीकर्ताको कुरा सुनेपछि अर्थमन्त्री शर्माले यो व्यवस्था कार्यान्वयनका लागि आफूले २ वर्षको समयसीमा दिनेसमेत वचन दिएका छन्। ‘अधिकतम १२ करोडको सेयर धितो कर्जासम्बन्धी व्यवस्थाले बजारलाई कस्तो प्रभाव पार्दो रहेछ, केही दिन हेरौँ’, अर्थमन्त्रीलाई उद्धृत गर्दै सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले भने, ‘धेरै प्यानिक भयो भने यो व्यवस्था फिर्ता हुन्छ।’

अर्थमन्त्री शर्माले २ वर्षपछि मात्र कार्यान्वयनमा आउने व्यवस्थाका कारण सेयर लगानीकर्ता अहिले नै प्यानिक बन्नुपर्ने आवश्यकता नरहेकोसमेत सो क्रममा बताएका छन्। 

अर्थमन्त्रीलाई भेट्न फुल्लेलसँगै सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारलगायतका लगानीकर्ता सिंहदरबार पुगेका थिए।