काठमाण्डौ । देशका ११ वटा उपमहानगरपालिकामध्ये अधिकांशमा सत्ता गठबन्धनका मेयर उम्मेदवारले अग्रता लिइरहेका छन्। दुई उपमहानगरमा स्वतन्त्र र एक उपमहानगरमा नेकपा एमालेका मेयर उम्मेदवारले अग्रता लिइरहेको छ। 

प्रारम्भिक मतपरिणामलाई आधार मान्ने हो भने अधिकांश उपमहानगरमा प्रमुख प्रतिपक्ष दल एमालेका मेयर उम्मेदवार दोस्रो स्थानमा छन्। यदि यही ढंग मत नतिजा आइरहने हो भने उपमहानगरमा एमालेको नतिजा शून्य हुन सक्ने सम्भावना देखिएको छ। 

प्रारम्भिक मतपरिणामअनुसार इटहरीमा मेयरका उम्मेदवार कांग्रेस हेमकर्ण पौडेल २६६२ मतका साथ अग्रस्थानमा छन्। एमाले उम्मेदवार चुङ्गवाङ सुब्बा १९३४ मतका साथ दोस्रो स्थानमा छन्।

यसैगरी धरान उपमहानगरपालिकामा पनि कांग्रेसका मेयर उम्मेदवार किशोर राईले १५८७ मतका साथ अग्रता लिइरहेका छन्। धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राई ११११ मतका साथ दोस्रो स्थानमा र एमालेकी मञ्जु भण्डारी सुवेदी ९५१ मतका साथ तेस्रो स्थानमा छन्।

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १४२८ मतका साथ अगाडि छन्। कांग्रेसका नृपबहादुर बड ८३९ मतका साथ दोस्रो स्थानमा र एमालेका रणबहादुर चन्द १४१ मतका साथ तेस्रो स्थानमा छन्।

नेपालगन्जमा कांग्रेसका उम्मेदवार प्रशान्त बिष्टले ९८४ मतका साथ अग्रता लिइरहेका छन्। यहाँ राप्रपाका नन्दलाल वैश्यले ३६६ मतका साथ बिष्टलाई पछ्याइरहेका छन्।

कलैया उपमहानगरमा भने एमालेका तर्फबाट विनोदप्रसाद साह १२९५ मतका साथ अग्रस्थानमा छन्। कांग्रेसका राजेशराय यादव ७१७ मतका साथ दोस्रो स्थानमा छन्।

बुटवलमा कांग्रेसका खिलराज पाण्डे २२१४ मतका साथ अग्रस्थानमा छन्। एमालेका बाबुराम भट्टराई १३९२ मतका साथ दोस्रो स्थानमा छन्। 

उता घोराही उपमहानगरमा माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले ३१३७ मतका साथ अग्रता लिइरहेका छन्। एमाले नरुलाल चौधरी २७६१ मतका साथ पोख्रेललाई पछ्याइरहेका छन्। 

जितपुर सिमरामा माओवादी केन्द्रका राजन पौडेल ३७०१ मतका साथ अग्रस्थानमा छन्। एमालेकी सरस्वतीदेवी चौधरी २२४६ मतका साथ दोस्रो स्थानमा छिन्।

जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले १२६४ मत अग्रता लिइरहेका छन्। उनलाई एमालेका शिवशंकर साहले ६३८ मतका साथ पछ्याइरहेका छन्। 

हेटौँडामा एकीकृत समाजवादीकी मीनकुमारी लामाले २१३० मतले अगाडि छिन्। लामाको निकटम प्रतिद्वन्द्वी एमालेका अनन्तप्रसाद पौडेल २१२८ प्राप्त गरेका छन्।