AnalRaj Bhattarai
-अनलराज भट्टराई
नेपालमा बसेर विजिनेश गर्न त्यसै पनि कठीन छ । आयात खुल्ला छ, यहीँ उत्पादन गर्नसक्ने अवस्था छैन । यस्तो बेलामा उत्पादकत्व बढाउनुपर्ने खाँचो छ । उत्पादकत्व बढाउनका लागि बैंक ब्याजदर न्यून हुनुपर्छ । तर, बुधबारदेखि ब्याजदर बढाउने प्रतिस्पर्धा सुरु भएको जस्तो देखिएको छ । यो राम्रो होइन । ब्याजदर बढ्दा अर्थतन्त्रमा राम्रो प्रभाव पार्दैन । यसले समग्र अर्थतन्त्रलाई सकारात्मक भन्दा बढी नकारात्मक असर गर्छ ।
बैंकर्स संघले यसअघिको भद्र सहमति भंग गर्दै ब्याजदर बढाउने जुन निर्णय गरेको छ, त्यो सही भएन । यो निर्णयलाई उहाँहरु(बैंकरहरु)ले पुनर्विचार गर्नुहुन्छ र यसलाई करेक्सन गरेर फेरि पनि ब्याजदर घटाउनुहुन्छ भन्ने आशा राखेको छु ।
देशमा विजिनेश गर्ने सबैले बैंकको ब्याजदर नबढोस् भन्ने नै आशा गरेका हुन्छन् । कस्ट अफ डूइङ विजिनेश नबढोस् भन्ने चाहना हुन्छ । तर, त्यस्ता चाहनामाथि कुठाराघात हुने गरी भएको निर्णय फिर्ता हुनुपर्छ । बैंकर्स संघले आफूले गरेको निर्णयमा जतिसक्दो चाँडो पुनर्विचार गर्नुपर्छ ।
ब्याजदर बढ्दाको राम्रो पक्ष भनेको, जसले आफ्नो पैसा जम्मा गरेका छन्, उनीहरुले बैंकबाट बढी ब्याज पाउँछन् । योबाहेक धेरै सकारात्मक पक्ष हुँदैन ।
ब्याजदर यसरी बढाउन थाल्ने हो भने त्यसले बैंकको स्रोतको लागत बढ्न जान्छ, बैंकको लागत बढ्न जाँदा कर्जाको ब्याजदर पनि बढ्छ । हाम्रो जस्तो मुलुकमा १३, १४ वा १५ प्रतिशत कर्जाको ब्याजदरमा लगानी गर्दा वा व्यापार व्यवसाय गर्दा त्यति धेरै नाफा कमाउनसक्ने अवस्था हुँदैन । व्यापार व्यवसायमा निकै ठूलो प्रतिस्पर्धा छ । ब्याजदर बढ्दा भारत र चीनबाट आउने उत्पादनमा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्नै सक्दैनन् ।
निक्षेपको ब्याजदर बैंकर्स एशोसिएसन, नेपाल राष्ट्रबैंक, अर्थमन्त्रालयले निकै बहस गरेर मुद्रास्फितिको २ प्रतिशत भन्दा माथि नहुने गरी कायम गर्नुपर्छ ।
ब्याजदर महङ्गो हुँदा यसले समग्र जीवनशैलीमै फरक पार्छ । कतिपय मुलुकमा ब्याजदर बढी हुँदा खर्च कम हुन्छ, मान्छेले बचततर्फ लाग्छन् र खर्च कम गर्छन् भन्ने मान्यता हुन्छ । तर हाम्रो मुलुकमा यो कुरा लागू हुँदैन । किनभने डिमाण्ड बढ्दै जाँदा ब्याजदर जति हुँदा पनि कर्जाको माग घटिरहेको अवस्था देखिन्न । यो अवस्थामा लागत वृद्धि हुने बित्तिकै त्यसको उत्पादकत्व आउँदैन र त्यसले जीवनशैली र सबै कुरा र क्षेत्रमा असर गर्छ । ब्याजदर महङ्गो हुनुले अर्थतन्त्रलाई राम्रो संकेत गर्दैन ।
ब्याजदरको वृद्धिको दौडले सेयर बजारका लगानीकर्ता धेरै अत्तालिएका देखेको छु । अहिले नै यति धेरै आत्तिनुपर्ने अवस्था छैन । बेस रेटको आधारमा मात्र ब्याजदर परिवर्तन हुन्छ । तर, आजको ब्याजदर निर्णय लगत्तै भोलि नै बढ्छ भन्ने पनि हुँदैन । हामीकहाँ २८ सय अर्ब रुपैयाँको डिपोजिट छ । ५० देखि ६० अर्बसम्मको डिपोजिट यो दौडका कारण बढ्ला । तर, यसले समग्रमै ब्याजदर बढ्न जान्छ, सेयर बजारको कर्जा महङ्गो भइहाल्छ भन्ने कुरा पनि होइन । ब्याजदर बढ्ने प्रक्रिया छ, समय लाग्छ । त्यसले गर्दा बेसरेटमा प्रिमियम जोडेर जानुपर्छ । बेस रेटको दर प्रकाशित गर्नुपर्छ । बेस रेट आजको भोलि चेञ्ज पनि हुँदैन । आज आउँदैमा धेरै असर पार्दैन । केही हदसम्म सेयर बजारका लगानीकर्तामा यो कुराले नकारात्मक भावना आउने र मनोबलमा गिरावट आउने चाहि हुनसक्छ । तर, लगानीकर्ता अहिले आत्तिइहाल्नुपर्ने अवस्था चाहि छैन ।
किन दोहोरिरहन्छ समस्या ?
ब्याजदरको समस्या बेला–बेला नेपालको बैंकिङ उद्योगमा आउने गरेको छ । हामीले बुझ्नुपर्ने कुरा भनेको बैंकहरु पनि ब्यापार व्यवसाय गर्नै बसेका हुन् । उहाँहरुको पनि आफ्नो व्यापार हो । उहाँहरुलाई व्यापार बढाउनैपर्ने बाध्यता पनि हुनसक्ला । त्यसकारण अहिलेको ब्याजदर वृद्धिको प्रतिस्पर्धा भनेको सर्भाइभल हुने(बाँच्ने) प्रतिस्पर्धा हो जस्तो लाग्छ । धेरै बैंकको सीसीडी रेसियो ८० प्रतिशतको हाराहारीमा पुग्न लागेको अवस्था छ । यो अवस्थामा उहाँहरुको लडाई भनेकै निक्षेपमा हुने हो । अरुभन्दा पनि पहिला आफू बाँच्नु पर्यो । आफू बाँच्यो भने न अरुसँग भिड्न सकिन्छ भन्ने उहाँहरुको सोचाई होला ।
त्यसकारण यो निर्णय उहाँहरुको बाँच्ने प्रयास पनि हो जस्तो लाग्छ । तर, आफूले बाँच्ने प्रयास गर्दा अरुलाई के असर गर्छ भन्ने कुरा पनि हेरिन आवश्यक छ । म बाँच्दा अरु पनि बाँचून् भन्ने कुरा चाहि बैंकर साथीहरुले सोच्न आवश्यक छ ।
बैंकहरुले आफ्नो हिँडाई र कुदाईमा पुनर्विचार गर्न आवश्यक छ । यो कुरा मैले बारम्बार भनिरहेको छु । बैंकहरुले आफ्नो अपरेशन कस्टलाई हाई बनाइरहेका छन् । त्यहाँ पनि उत्पादकत्व बढाउनुपर्छ । बैंकहरुको प्रोडक्टीभिटी नै भएन । ब्राञ्च बढाउने र खर्च बढाउने होडबाजीमा लाग्नुभएन । उहाँहरुले खर्च नियन्त्रण गर्नुपर्छ, तर यसतर्फ ध्यान गएको देखिन्न ।
बैंकहरुले रणनीति परिवर्तन गर्न आवश्यक छ । किनभने हामीकहाँ अहिले बैंकको शाखा र साइज बढाउने होडबाजी मात्र चलेको छ । यो गलत प्रवृति हो । व्यापार बढाउने, शाखा पनि बढाउने र म कसरी ठूलो बैंक बन्ने भन्ने होडबाजी देखियो, यो गलत छ । धेरै चाँडै धेरै ठूलो हुनु खतराको संकेत समेत हो ।
त्यसकारण अब बैंकहरुको संख्या घटाउनतर्फ लाग्नुपर्छ र पूँजीको बिषयमा समेत पुनर्विचार गर्न आवश्यक देख्छु ।
अहिलेको अवस्थामा तरलता सहज गरिदिने काम राष्ट्रबैंक र अर्थ मन्त्रालयले गरिदिनुपर्छ । तत्कालीन समस्याको समाधान तरलता कसरी बढाउने भन्नेतर्फ लाग्नुपर्छ । बजारमा पैसा पठाइदिएर ब्याजदर नियन्त्रण गर्ने, अनि बैंकको संख्यालाई कटौति गर्न आवश्यक रणनीति तयार गर्ने र एकवर्षभित्र बैंकको संख्या १० देखि १५ मा झार्ने काम गर्नुपर्छ । एउटा एक वर्षे रणनीति र अर्को केही हप्ते रणनीति बनाएर अगाडि बढ्न आवश्यक छ ।
बैंक तथा बित्तीय संस्थालाई लागत घटाउने अवस्था बनाइदिनुपर्छ । नेचुरल ग्रोथमा जाने अवस्था बनाइदिनुपर्छ । सस्टेनेबल हिसाबले बैंकलाई सक्षम, बलियो बैंक बनाउनुपर्छ । संचालन खर्च पनि घटाउन लगाउनु पर्छ ।
तत्कालीन तरलताको संकट हट्ला ?
अर्थमन्त्रालयले स्थानीय निकायलाई विनियोजित बजेटको ५० प्रतिशत बैंकहरुले निक्षेपको रुपमा चलाउन पाउने व्यवस्था गरिदिएको छ । यो व्यवस्थासँगै बैंकिङ प्रणालीमा देखिएको तरलताको समस्यालाई तत्काल सम्बोधन हुने देखिन्छ । यसमा सरकारको फण्डलाई निक्षेपको रुपमा दिएर त्यसलाई फेरि कर्जामा जाँदा बैंकले चाहेको बेलामा सरकारलाई पैसा दिन सक्छ कि सक्दैन ? भन्ने प्रश्न पनि उब्जिएको छ ।
तर, अमाउण्ट चाहि सानो भएकोले डराइहाल्नुपर्ने अवस्था देखिदैन । ३०–४० अर्ब रुपैयाँ भनेको ठूलो रकम पनि होइन । बैंक तथा बित्तीय संस्थाले त्यसरी पाएको पैसा उपभोग्य सामाग्रीको कर्जामा उपभोग गर्न नपाउने हिसाबले र यो कर्जा प्रोडक्टिभ सेक्टरमा मात्र लगानी गर्न पाउने हिसाबले नीति बनाइनुपर्छ । होइन भने यसलाई पनि निक्षेपको रुपमा स्वतन्त्र ढंगले कर्जा परिचालन गर्ने अवस्था क्रिएट गरियो भने त्यसले लङटर्ममा नकारात्मक असर ल्याउन सक्छ । तर, रकम ठूलो नभएकोले धेरै आत्तिइहाल्नुपर्ने अवस्था चाहि छैन ।
(भट्टराई पूर्व बैंकर तथा विश्लेषक हुन्।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago