काठमाण्डौ । पर्याप्त तयारीबिना नै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याइएका कारण बजार चौपट बनेको छ । 

नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणाली कार्यान्वयन अघि मक ट्रेडिङमा सहभागी हुन ब्रोकर र लगानीकर्तालाई बारम्बार आग्रह गरे पनि अधिकांशले यसप्रति बेवास्ता गर्दाको परिणाम बजारमा अत्यन्त न्यून कारोबार हुन थालेको छ । 

आइतबार १० करोड समेत नपुगेको कारोबार केही बढी सोमबार १३ करोड ३८ लाख मात्र पुगेको छ । यो क्रममा लगानीकर्तालाई सिकाउने दायीत्व बोकेका अधिकांश ब्रोकरहरु नै अनलाइन कारोबार प्रणालीको बिषयमा अलमलमा परेका देखिएको छ । 

बिजशालाले अनलाइन कारोबार प्रणाली कार्यान्वयनका लागि मक ट्रेडिङअघिदेखि नै ब्रोकरहरुबाट नेप्सेलाई असहयोग भएको समाचार प्रकाशन गरेको थियो । निकै लामो समयको मक टेडिंगमा समेत कतिपय ब्रोकरले मन लगाएर सिक्ने र कर्मचारीलाई सिकाउने काम गरेनन् । यस्तै, आफ्ना लगानीकर्तालाई समेत अनलाइनका लागि तयारी बनाउन सकेनन् । यसैको परिणाम स्वरुप अनलाइन कारोबार प्रणालीको कार्यान्वयनपछि बजारमा कोशेढुंगा साबित भई उछालको गतिमा सूचक र कारोबार रकम माथि पुग्ने अपेक्षा अन्ततः पूरा हुने अवस्था देखिएको छैन । 

ब्रोकरहरुले नै नयाँ सिस्टम चलाउन नजान्दा समस्या भइरहेको नेप्सेका अधिकारीहरुले बताएका छन् । नेप्सेले यसैका लागि भनेर प्राविधिक टोलीलाई स्टेण्डबाई राखे पनि सबै लगानीकर्ताले कारोबार गर्ने अवसर पाइरहेका छैनन् । 

ब्रोकर र लगानीकर्ताको यस्तै बेवास्ताका कारण सोमबार पनि नेप्से परिसूचकमा १३.०३ अंकको पहिरो गयो । नेप्से परिसूचक घटेर ११९२.७५ को विन्दूमा सीमित हुन पुगेको छ । 

बित्त समूहमा ०.४२ अंकको बढोत्तरी भए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । बैंकिंग समूह १० अंकले बढेको यो दिन विकास बैंक समूहमा ७.६३ अंक, होटल समूहमा ११.२१ अंक, जलविद्युत समूहमा १८.७४ अंक, निर्जीवन बिमा समूहमा १०१.६१ अंक, जीवन बिमा समूहमा ९१.९१ अंक, माइक्रोफाइनान्स समूहमा २२.९८ अंक र अन्य समूहमा ९.२ अंकको गिरावट देखिएको छ । 

यो दिन पनि सबैभन्दा बढी प्रभू बैंकले कारोबार गरेको छ । यो बैंकको १ करोड २५ लाख बढीको सेयर कारोबार भएको छ । स्ट्याण्डर्ड चार्टर्डले ५८ लाख बढी, नेपाल बैंकले ४७ लाख, कुमारी बैंकले ४० लाख, एनबी बैंकले ३८ लाख बढीको कारोबार गरेका छन् । 

यो दिन नवील इक्वीटी फण्डका इकाईधनीले धेरै कमाए । यो स्किमका इकाई मूल्यमा २ प्रतिशतले वृद्धि भयो ।

अपी पावर कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आयो ।