काठमाण्डौ । अनलाइन सेयर कारोबार प्रणालीको अन्तिम तयारी चलिरहेको खबरले लगानीकर्ताको मनोबल उकासेको छ । बजार पूर्ण रुपमा अत्याधुनिक र डिजिटाइज्ड हुने भएपछि भविष्यमा यसले फड्को मार्ने आँकलनसहित लगानीकर्ताले राम्रा कम्पनीको सेयरको खरिदारी बढाउँदा नेप्से परिसूचक उकासिएको हो । 

यो दिन नेप्से परिसूचक ८.०९ अंकले बढेको छ भने कारोबार रकम पनि बढेर २३ करोड २८ लाख माथि पुगेको छ । 

परिसूचकसँगै कारोबार रकम पनि बढ्नु बजारको सुखद भविष्यको संकेत हो । बुधबारको कारोबारले यही संकेत गरेको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीमा खरीद चाप हुँदा सेन्सेटिभ इण्डेक्स १.७३ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५३ अंकको बढोत्तरी भएको छ । 

यो दिन बजारका सबै समूहको सूचक हराभरा भएका छन् । बैंकिङ समूह ५.८२ अंकले बढेको यो दिन विकास बैंक, माइक्रोफाइनान्स, होटल, जलविद्युत समूहमा क्रमशः ४.८२, १.४७, ७०.६९ र ८.३४ अंकको बढोत्तरी भएको छ । जीवन बिमा समूह २६.३७ अंकले बढेको यो दिन निर्जीवन बिमा समूहमा ६३.६८ अंकको वृद्धि भएको छ । 

बित्त कम्पनी १.१८ अंकले बढ्यो भने उत्पादनमूलकमा २०.१९ अंक तथा अन्य समूहमा ८.५ अंकको वृद्धि भएको छ ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५२ कम्पनीका ८ लाख ९१ हजार ६ सय ९ कित्ता सेयर २३ करोड २८ लाख ९० हजार ५ सय ९ रुपैयाँमा कारोबार भएको छ । 
सबैभन्दा बढी प्रभू बैंकले ३ करोड ३७ लाख बढीको कारोबार गर्यो । यो बैंकले निकट भविष्यमै १० प्रतिशत भन्दा माथिको लाभांश वितरणको घोषणा गर्ने खबर फैलिँदा लगानीकर्ताले निरन्तर प्रभू बैंकको सेयर उठाइरहेका छन् । 

एनआइसी एशिया बैंकले १ करोड २३ लाख बढीको कारोबार गरेको यो दिन कुमारी बैंकले १ करोड १ लाख, सिद्धार्थ बैंकले पनि १ करोड १ लाख, एनएमबी बैंकले ७९ लाख, माछापुच्छे बैंकले ६५ लाख, नेपाल टेलिकमले ६३ लाख, प्राइम कमर्सियल बैंकले ५७ लाख, मेगा बैंकले ५३ लाख र जनता बैंक नेपालले ५२ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.८३ प्रतिशतले वृद्धि भयो । ओरिएन्टल होटल लिमीटेडको मूल्यमा ५.७३ प्रतिशतको बढोत्तरी भएको यो दिन यूनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्यमा समेत ५.७३ प्रतिशतले नै बढ्यो । 

यो दिन सेञ्चुरी कमर्सियल बैंकका संस्थापक सेयरधनीले धेरै गुमाए । कम्पनीको संस्थापक सेयरको मूल्य ५.०६ प्रतिशतले घटेको हो ।