काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अनलाइन कारोबार प्रणाली सुरु गरे पनि सिस्टमले काम नगर्दा लगानीकर्ता तथा ब्रोकरले दुःख पाएका छन् । 

पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीलाई चुस्तदुरुस्त राख्ने कार्यमा नेप्सेको प्राविधिक टिमले गरेको प्रयास सफल नहुँदा आइतबार करिब २ घण्टासम्म एकदर्जन बढी ब्रोकरले कारोबार गर्न सकेनन् । 

ब्रोकरहरु नेप्सेको प्राविधिक टिमको कमजोरीका कारण आफूहरुले दुःख पाएको दाबी गरिरहेका छन् भने नेप्सेले भने ब्रोकरले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली चलाउन नजान्दा लगानीकर्ताले दुःख पाएका आरोप लगाइरहेको छ । ब्रोकर र नेप्सेबीचको आरोप प्रत्यारोपको परिणाम: हजारौं लगानीकर्ताले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको नाममा दुःख पाएका छन् । 

सबै लगानीकर्ता कारोबार सहभागी हुन नपाउँदा यो दिन नेप्से परिसूचकमा १७.३१ अंकको पहिरो गएको छ भने कारोबार रकम समेत घटेर ९ करोड ९४ लाखमा सीमित बन्न पुगेको छ । 

यो दिन बित्त समूहमा १.२५ अंक तथा अन्य समूहमा ०.७३ अंकको बढोत्तरी भए पनि बाँकी सबै समूहको सूचक घटेका छन् । बैंकिंग समूहमा २५.०८ अंकको पहिरो गएको छ भने विकास बैंक समूहमा ६.०५ अंक, जीवन बिमा समूहमा २९.११ अंक, निर्जीवन बिमा समूहमा ४३.०७ अंक, माइक्रोफाइनान्स समूहमा ३.०८ अंकको गिरावट आएको छ । 

होटल समूहमा ३.५८ अंकले गिरावट आएको यो दिन जलविद्युत समूह १३.२२ अंकले ओरालो लाग्यो । 

यो दिन प्रभू बैंकले ८४ लाख बढीको कारोबार गर्यो । नेपाल बैंकले ८२ लाख, एनआइसी एशियाले ७९ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६९ लाख, एभरेष्ट बैंकले ४१ लाख बढीको कारोबार गरे । 

यो दिन स्वदेशी लघुवित्तका लगानीकर्ताले करिब ४ प्रतिशतले सम्पत्ति कमाए भने अपी पावरको सेयरमूल्यमा करिब १० र स्ट्याण्डर्ड चार्टर्डको मूल्यमा ८.५५ प्रतिशतको गिरावट आयो । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले पाँच वर्षयताकै थोरै लाभांश घोषणा गरेपछि त्यसको प्रभाव उसको सेयरमूल्यमा परेको देखिएको छ । यहीकारण यो बैंकको सेयर प्रतिकित्ता ६३१ रुपैयाँमा सीमित बन्न पुगेको छ ।