काठमाण्डौ । पर्याप्त तयारीबिना नै अनलाइन सेयर कारोबार प्रणाली कार्यान्वयनमा ल्याएपछि यसमा बग्रेल्ती समस्या  आएसँगै लगानीकर्ता निराश बन्दा र उनीहरुको उत्साहजनक सहभागिता नहुँदा सेयर बजार परिसूचक(नेप्से) ३४ महिनाकै न्यून विन्दूमा झरेको छ । 

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.३७ अंकले घटी ११४८.७० को विन्दूमा सीमित बन्न पुगेको हो । २०७२ पुस २१ गते मंगलबार पछाडि बजार परिसूचक झरेर यति तल पुगेको थिएन । 

बजार लगातार घटिरहनु पछाडि लगानीकर्तामा दिनहुँ खस्किएको मनोबल, बजारको विकास र बिस्तारका लागि सम्बद्ध निकायको बेवास्ता, अनलाइन कारोबार प्रणालीको नाममा देखिएको अन्यौल निराकरणका लागि नेप्सेले गरेको ढिलाई तथा बजारमा केही समूहले गरेको तीव्र चलखेल मुख्य कारणको रुपमा देखिएको विश्लेषकहरु बताउँछन् । 

नेप्सेले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमार्फत सेयर खरीदबिक्रीका लागि सर्वसाधारणलाई खुल्ला गर्ने मिति अझै निकै पर छ । 

सीमित ब्रोकरहरुमार्फत लगानीकर्ताले कारोबार गरिरहनु परेका कारण समेत न्यून सेयर मात्र कारोबार भइरहेको बताइन्छ । एकातिर, सेयरको आपूर्ति बढिरहेको छ भने अनलाइन प्रणालीको सुस्तताका कारण कारोबार हुने कित्ता भने घटिहरँदा यस्तो अवस्था आएको बताइएको छ । 

बजार अझै घट्छ भन्ने गिरोहहरुको हल्लाको पछाडि लगानीकर्ता कुदेका कारण समेत बजारमा उच्च बिक्री चाप देखिएको छ । यसले समेत बजार परिसूचकलाई ३५ महिनाकै तल्लो विन्दूमा झारिदिएको बताइएको छ । 

यो दिन बित्त समूह ०.१३ अंकले बढेको छ भने उत्पादनमूलकमा १.०२ अंकको बढोत्तरी भएको छ । 

बाँकी सबै समूहको सूचकमा रातो पोतियो । बैंकिङ समूह ९.३८ अंकले घटेको यो दिन व्यापार समूह ३.४६ अंक, होटल समूह ९.५७ अंक, विकास बैंक समूह ११.२७ अंक, जलविद्युत समूह २.७१ अंक, निर्जीवन बिमा समूह १०५.१७ अंक, माइक्रोफाइनान्स समूह २४.२३ अंक, जीवन बिमा समूह ४७.७६ अंक र अन्य समूह २.३१ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन १६१ कम्पनीका १० लाख ६२ हजार ४३ कित्ता सेयर ३२ करोड २९ लाख ४७ हजार ९ सय ८३ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी नेपाल बैंकले ५ करोड १९ लाख बढीको कारोबार गरेको छ । यसैगरी, एनएमबी बैंकले २ करोड ६७ लाख, सानिमा बैंकले १ करोड ९६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ९३ लाख, प्रभू बैंकले ८९ लाख, जनता बैंक नेपालले ८४ लाख, लाइफ इन्स्योरेन्स कम्पनीले ८३ लाख, नागरिक लगानीकोषले ७६ लाख, एनसीसी बैंकले ७५ लाख र मुक्तिनाथ विकास बैंकले ५९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन चिलिमे हाइड्रोका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ३.८८ प्रतिशतले घट्यो । 

आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आयो ।