काठमाण्डौ । नेप्सेले कार्यान्वयनमा ल्याएको पूर्ण स्वचालित भनिएको झूर अनलाइन प्रणालीको अबगुण र भद्रगोल अवस्थाका कारण लगानीकर्ताहरुको मनोबलमा नकारात्मक प्रभाव पर्न थालेको छ । 

अनलाइन ट्रेडिङ सिस्टमप्रति अविश्वास बढ्दै जाँदा लगानीकर्ताहरुको मनोबल भने घट्दै गएको छ । फलस्वरुप बजारमा फेरि गिरावटको यात्रा सुरु भएको छ । नेप्सेको गलत रबैया र अनलाइन कारोबार प्रणालीप्रतिको अविश्वासका कारण नेप्से परिसूचक सोमबार दोहोरो अंकले घटेर ११६८.०६ को विन्दूमा समेटिन पुगेको छ । 

यो दिन नेप्से परिसूचक १०.८६ अंकले घट्यो भने सेन्सेटिभ इण्डेक्समा १.८७ र फ्लट इण्डेक्समा ०.७६ अंकको गिरावट देखियो । 

यो दिन बित्त समूहमा ०.६५ अंकको झिनो बढोत्तरी भए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो ।

बैंकिङ समूह ४.६२ अंकले घटेको यो दिन व्यापार समूहमा २.९६ अंक, होटल समूहमा १९.५२ अंक, विकास बैंक समूहमा ७.७६ अंक, जलविद्युत समूहमा ४२.१७ अंक, निर्जीवन बिमा समूहमा ४२.६७ अंक,  जीवन बिमा समूहमा ६१.६८ अंक, माइक्रोफाइनान्स समूहमा २५.५१ अंक, उत्पादनमूलकमा २३.५२ अंक र अन्य समूहमा ११.६ अंकको गिरावट आयो।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६६ कम्पनीका १२ लाख ६५ हजार ७ सय ८६ कित्ता सेयर ३६ करोड ७७ लाख ६ हजार ६ सय ३८ रुपैयाँमा किनबेच भएको छ।

यो दिन अपर तामाकोशीको सेयरमा बिक्री चाप देखियो । फलस्वरुप यो कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता २६३ रुपैयाँमा सीमित बन्न पुगेको छ।

यो दिन एनआइसी एशिया बैंकको १ करोड ९१ लाख बढीको संस्थापक सेयर किनबेच भयो भने नागरिक लगानीकोषले १ करोड ७० लाख, एलआइसी नेपालले ९१ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ८१ लाख, प्रभू बैंकले ७६ लाख, नेपाल बैंकले ७२ लाख,  एनआइसी एशिया बैंकले ७० लाख, छिमेक लघुवित्तले ६७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन गोर्खाज फाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा बढ्यो ।

अपर तामाकोशीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घटेपछि नेगेटिभ सर्किट लाग्यो । यो कम्पनीको सेयरमा भएको चलखेलको समाचार सार्वजनिक भएलगत्तै मूल्यमा हिजोदेखि लगातार गिरावट भइरहेको छ । त्यसअघिका केही दिन अपर तामाकोशीको मूल्य हरेक दिन पोजिटिभ सर्किट हान्दै बढिरहेको थियो ।