काठमाण्डौ । विभिन्न भुक्तानी सेवाप्रदायकहरुको प्लेटफर्म प्रयोग गरी अनलाइनबाट विद्युत महसुल बुझाउँदा अब शुल्क लाग्ने भएको छ । 

नेपाल विद्युत प्राधिकरणले आफ्ना उपभोक्ताहरुबाट अनलाइनमार्फत महसुल भुक्तानी सेवा संचालन गर्न इच्छुक सेवा प्रदायकहरुबाट प्रस्ताव आह्वान गर्दै यस्तो व्यवस्था गरेको हो । हालसम्म विद्युत महसुल अनलाइनबाट भुक्तानी गर्दा उपभोक्ताले शुल्क तिर्नु पर्ने व्यवस्था थिएन । 

मासिक रु. ५०० सम्म महसुल अनलाइनबाट भुक्तानी गर्नेले भने कुनै शुल्क तिर्नुपर्नेछैन । तर, मासिक रु. ५०१ देखि रु. ५ लाखसम्म महसुल तिर्दा प्रति कारोबार रु. ५ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था प्राधिकरणले प्रस्ताव गरेको हो । तर, रु. ५०१ देखि माथिको महसुलमा थप शुल्क सेवा प्रदायकले प्रस्ताव गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

प्राधिकरणले विद्यूत महसुल संकलन कार्यलाई शहरी तथा दुर्गम ग्रामीण क्षेत्रहरुमा सहज रुपमा पुर्याउन भन्दै सुरक्षित, भरपर्दो र अत्याधुनिक प्रविधिहरुबाट अनलाइन विद्युत महसुल संकलन गर्ने कार्य गर्न इच्छुक सेवाप्रदायकहरुलाई विभिन्न शर्त राखेर प्राधिकरणले प्रस्ताव समेत मागेको छ ।