– अर्जुन तिमिल्सिना
काठमाण्डौ । आज असारको पहिलो दिन। बिहान ११ बजेतिर ललितपुरको खुमलटार क्षेत्रमा पानी परिरहेको थियो। सेयर बजार अरु दिन जसरी नै झरेको थियो।
आन्दोलनरत लगानीकर्ता बिहान साढे १० बजेदेखि नै खुमलटारस्थित बजार नियामक नेपाल धितोपत्र बोर्डको कार्यालय अगाडि जम्मा भइरहेका थिए। किनकि पूर्वघोषित कार्यक्रमअनुसार पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले आजबाट आमरण अनशन सुरु गर्ने कार्यक्रम थियो।
अनशन धितोपत्र बोर्डको कार्यालयभित्र बस्ने कि बाहिर भन्ने विषयमा लगानीकर्ताका नेताहरुबीच छलफल चल्दै थियो। त्यतिकैमा तिलक कोइराला सवार कार पनि आइपुग्यो। उनी कारबाट केही थान चकटी र पाल लिएर बाहिरिए।
आनशनकारीले धेरै सुविधा खोज्नुहुन्न भन्दै कोइराला धितोपत्र बोर्डको कार्यालयबाहिरै सडकमा बस्ने तरखर गरे। त्यसपछि उनीसँगै गएका अन्य लगानीकर्ताहरु पाल हाल्न थाले।
अनशनको तयारी गर्दागर्दै साढे ११ बजिसकेको थियो। बजार ४० अंकभन्दा बढीले खसिसकेको थियो।
केही लगानीकर्ता मोबाइलमा बजार हेर्दै आज पनि खस्यो भन्दै निराश देखिन्थे। कोही भन्दै थिए, ‘टीएले बजार बिगारे।’
कोही बजार घटेकोमा मिडियालाई गाली गर्दै थिए। लगानीकर्ताकै भीडमा एकजनाले भने, ‘अघिल्लो महिना बेचेको भए डेढ करोडजति हुन्थ्यो, अहिले त घटेर ४० लाखमा झर्यो।’
यत्तिकैमा प्राविधिक विश्लेषक विष्णु बस्याल कार हुँकाउँदै अनशनस्थल आइपुगे। बस्यालप्रति इंगित गर्दै त्यहीँ उपस्थित एक लगानीकर्ताले भने, ‘मलाई मेरै भाइले सेयर बेच्न नदिएर हो नि ! यस्तो कार त म पनि किन्न सक्थेँ !’
तिलक कोइरालाले अनशन सुरु गरिसकेका थिए। मध्याह्नको १२ बज्दै थियो। पानी झनै दर्किन थालेको थियो। एक महिला लगानीकर्ताले छाता ओड्दै भनिन्, ‘बजार घटेर जसरी लगानीकर्ता रोएका छन्, त्यसरी नै आज खुमलटारमा प्रकृति पनि रोइरहेको छ। तर, के गर्ने राष्ट्र बैंकले देखेन।’
त्यही भीडमा केही लगानीकर्ता भने अनशन बसेरमात्रै नहुने तर्क गर्दै थिए। ‘अब ब्रोकरहरुसँग सल्लाह गरेर पूरै सेयर कारोबार नै बन्द गर्नुपर्छ’, एक लगानीकर्ताले भने, ‘अनिमात्रै सरकारले सुन्छ।’
ती लगानीकर्तासँगै उभिएका अर्का लगानीकर्ताले भने कारोबार नै बन्द गर्न नहुने तर्क गरे। कारोबार बन्द गर्न असहमति जनाएपछि ती लगानीकर्ता फेरि जङ्गिँदै भने, ‘अघिल्लोपटक करको विषयमा आन्दोलन हुँदा कारोबार बन्द गरिएको थियो। कोभिडको बेला पनि बजार बन्द गरिएकै हो। समस्या आएपछि भारतमा पनि बजार बन्द भएको थियो। श्रीलंकामा पनि बजार बन्द भएको छ। आवश्यक परे नेपालमा पनि केही दिन बजार बन्द गरेर सरकारलाई दबाब दिनुपर्छ।’
अनशनस्थलमा लगानीकर्ता आउने क्रम जारी नै थियो। अनशनमा बसेका तिलक कोइराला भन्दै थिए, ‘सामाजिक सञ्जालमा मलाई उडाउनभन्दा खुमलटारमा आएर साथ दिनुुहोस्। आन्दोलनले छिट्टै निर्णायक मोड लिन्छ। सम्पत्तिको सुरक्षा हुन्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago