काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले अन्तत: उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिने भएको छ ।

प्राधिकरणले आजदेखि २३ उद्योगमा बिजुलीको लाइन जोड्न लागेको हो । 

शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६० औं बैठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो ।


यसअघि नै मन्त्रिपरिषद बैठकले भने लाइन काटिएका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । उता सरकारले पनि डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरिसकेको छ ।


मन्त्रिपरिषद बैठकले गठन गरेको जाँचबुझ आयोगबाट प्रतिवेदन पेश भई  सरकारबाट निर्णय नभइन्जेलसम्मका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले बताएका छन् । 

डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको बक्यौता नतिरेको भन्दै विद्युत् प्राधिकरणले गत पुस ६  गतेदेखि उद्योगहरूको लाइन काट्न सुरू गरेको थियो । 
सकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधानका लागि उच्चस्तरीय आयोग गठन गरेको छ ।
आजैबाट लाइन जोड्न शुरु हुन्छः प्राधिकरण

प्राधिकरण स्रोतका अनुसार शुक्रबारबाटै लाइन जोड्न शुरु हुने छ  ।प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले २४ वटा उद्योगको लाइन काटेको थियो ।

त्यसमध्ये हिमाल आइरन एन्ड स्टिलले बक्यौताबापत पहिलो किस्ता तिरेर लाइन जोडेको थियो । प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता छ ।