-अर्जुन तिमिल्सिना 
काठमाण्डौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार आइतबार अन्तर बैंकिङ ब्याजदर एक प्रतिशतभन्दा तल आएको छ ।

यो भनेको कोभिड महामारि पछि कै सबैभन्दा कम ब्याजदर हो । आइतबार केहि वाणिज्य बैंकहरुले प्रकाशित गरेको ब्याज दर पनि करिब कभिड महामारिपछिकै अवस्थामा आइपुगेको छ ।

बैंकहरुले एक प्रतिशतभन्दा तल नै नेपाल राष्ट्र बैंकमा लगानी गरेका थिए ।कतिपय अर्थशास्त्री तथा  विज्ञका अनुसार सेयर बजार  ब्याजदर बीचको सम्बन्ध जहिल्यै पनि उल्टो हुन्छ ।

यसले गर्दा ब्याज दर बढ्दै जाँदा बजार घट्दै जान्छ र ब्याज दर घट्दै जाँदा बजार बढ्दै जान्छ ।

अर्थशास्त्री मुक्ति बहादुर खत्री भन्छन्, ‘अहिले सेयर बजारको लागि राष्ट्रिय र अन्तरराष्ट्रिय परिस्थित अनुकुल थिएन । बजार २०७६/०७७ देखि एकोहोरो घटेको थियो । लामो समयपछि केन्द्रीय बैंकले मौदिक नीतिको समीक्षामार्फत् सेयरबजारका लागि केहि लचक नीति ल्याइदियो । ब्याजदर पनि घटेको अवस्थामा छ । समीक्षापछि अहिले बजारमैत्री वातावरण बनेको छ ।’

उनका अनुसार लगानीकर्ताहरु खासै आशावादी त थिएनन्। गभर्नर महाप्रसाद अधिकारीको नीतिमा पनि एकरुपता थिएन । तर सेयर बजारले भने बट्म लगाइसेकेको अवस्था थियो । त्यसकारण बजार बढ्नु स्वभाविक थियो ।

उनका अनुसार बजारमा ब्याजदर जहिल्यै पनि इलास्टिक हुने गर्छ । यस्तो अवस्थामा छिटो कमाउन खोज्नेहरु सक्रिय हुनु स्वभाविक पनि हो ।

उनले भने, ‘अब बजारको दिशा राष्ट्र बैंकको निर्देशिका कस्तो आउँछ भन्नेमा पनि भर पर्छ । ठूला लगानीकर्ताहरुले लगानी बढाउँछन् या बढाउँदैनन् त्यसले पनि निधारण बजारको बाटो तय गर्छ । तर पनि बजार धेरै घटिसकेकोले अबको यात्रा माथि नै जान्छ ।’
 

अर्का बजार जानकार सूर्यनारयण पौडेलको विचारमा मौद्रिक समीक्षा सकारात्मक हुँदा बजार बढेको बताउँछन् ।

उनले भने, ‘सबै पक्षको दबाबले राष्ट्र बैंकलाई तिब्र दबाब परेको हो, यसैको प्रभाव आइतबारको बजारमा परेको हो ।

 आजको बजारको बढोत्तरीले मात्रै बजार बढी हाल्छ भन्न चाहिं सकिन्न ।बजार बढ्दा ठूला लगानीले विगतमा के गरे भन्ने विषय पनि हेर्नुपर्दछ ।यदि उनीहरुले पनि सेयर उठाएको खण्डमा बजार माथि नै जान्छ । अन्यथा बजार २ हजार २०० सम्म मात्रमा पनि जान सक्छ ।’