काठमाण्डौ । पर्यटकीय नगरी पोखरामा विगत २ वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। 

अन्नपूर्ण केबलकार नेपालमा सञ्चालित केबलकारमध्ये हिम शृंखलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको एकमात्रै केबलकार हो। आईपीओ निस्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ। 

बुधबार आयोजित कार्यक्रममा अन्नपूर्ण केबलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

२०७८ साल फागुन ६ देखि सञ्चालनमा आएको अन्नपूर्ण केबलकारले कम्पनीको जारी पुँजी १ अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरुलाई समेत बिक्री गर्न लागेको हो। केबलकारमा जनताको सहभागिता बढाउनका लागि २० प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष गुरुङले जानकारी दिए। कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले आईपीओ निकाल्नेछ। 

पाँच वर्षअगाडि निर्माण सुरु भएको केबलकार कोभिडका कारण तोकिएको समयभन्दा दुई वर्ष ढिलागरी सञ्चालनमा ल्याइएको थियो। आईपीओ निष्कासनपछि कम्पनीले थप परियोजनामा समेत लगानी गर्ने योजना बनाएको जानकारी गुरुङले दिए।  

पोखरा महानगरपालिका–१८ स्थित सेदीबगरस्थित अन्नपूर्ण केबलकारको बटम स्टेसन निर्माण गरिएको छ। जसको निर्माण लागत १ अर्ब ९७ करोड रुपैयाँ लागेको कम्पनीले जनाएको छ। जसमा कम्पनीका संस्थापकले सुरुमा इक्विटीमा ९० करोड लगानी गरेका थिए। केबलकार निर्माणको लागि कम्पनीले बैंकसँग १ अर्ब ७ करोड रुपैयाँ ऋण लिएको थियो। 

केबलकारको माथिल्लो स्टेसन सराङकोटमा अहिले पञ्चमुखे गणेशको मूर्ति निर्माण भइरहेको छ। सो मूर्ति ४८ फिट अग्लो र ४४ फिट चौडाई रहेको छ। यो मूर्ति विश्वकै ठूलोमध्ये एक हो। यसबाहेक भ्युटावर, मूर्तिसहित अन्य संरचना आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने अध्यक्ष गुरुङले जानकारी दिए। 

केबलकार चढेर सराङकोटबाट सूर्योदय, सूर्यास्त तथा हिमालको दृश्य हेर्न सकिन्छ। विश्वकै पर्यटकीय सूचीमा रहेको पर्यटकीय नगरी पोखराको अन्नपूर्ण केबलकारबाट ३ किसिमका दृश्यावलोकन गर्न सकिनेछ। सूर्योदय, सूर्यास्त र हिम शृंखलासहित तालको समेत एकै स्थानबाट अवलोकन गर्न सकिनेछ। 

हिमालको सबैभन्दा नजिक रहेको केबलकार नेपालकै पहिलो हो। त्यतिमात्रै नभएर नेपालमा सञ्चालनमा रहेका केबलकारमध्ये विदेशी लगानी रहेको पनि यो पहिलो र एक हो। 

यस केबलकार परियोजनामा जापानिज निप्पोन केबलकारको प्रविधि प्रयोग गरी निर्माण गरिएको छ। जुन सुरक्षाको हिसाबले बढी सुरक्षित मानिन्छ। २०७८ साल फागुनदेखि सञ्चालनमा आएको केबलकारमा क्याबिनसहित १८ वटा गोन्डोला रहेको छ। 

केबलकारको सुरुको स्टेसनदेखि अन्तिमसम्म १३ वटा टावर रहेको छ। एउटा गोन्डोलामा ८ जनाले यात्रा गर्न मिल्छ। एक घन्टामा ५०० जना यात्रुले यात्रा गर्न मिल्ने कम्पनीले जनाएको छ।