काठमाण्डौ । लगानीकर्ताको अपेक्षा अनुसारको वातावरण नबन्दा बजारमा मन्दी छाइरहेको छ । सुस्त बनेको बजारमा लामो समयपछिको बढोत्तरी समेत टिक्न नसकेको देखिन्छ । यसले बजारका लगानीकर्ताहरुको मनोलब बलियो बनाउने वातावरण नबनेको प्रष्ट पार्ने विश्लेषकहरु बताउँछन् । 

कतिपय ब्रोकरहरुले बजारको विश्लेषण गर्दै मौद्रिक नीतिपछि तत्कालै बैंक ब्याजदर घट्छ भन्ने लगानीकर्ताको अपेक्षा लामो समयसम्म पनि पूरा हुन सकेको छैन । तरलता फालाफाल हुँदा समेत ब्याजदर नघट्दा लगानीकर्तामा द्विविधाले घर गरेको छ । यस्तो अन्यौलग्रस्त अवस्थाले समेत बजारलाई दिगो ढंगले अगाडि बढाउन अवरोध गरिरहेको उनीहरुको दाबी छ । 

केही जानकारहरु भने बजारमा ठूलो अंकको गिरावट नआएकोले अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था नरहेको दाबी गर्छन् । 'बजार घट्दा समेत ठूलै अंकको गिरावट देखिएको छैन ।' बजारसँग सम्बन्धित एक जानकारले भने-'धेरै ठूला तथा संस्थागत लगानीकर्ता 'पर्ख र हेर'को रणनीतिमा छन् ।'

सूचिकृत कम्पनीहरुले लाभांश घोषणा गर्न थालिसकेका र ठूला बैंकले समेत अब सुरु गर्ने हुँदा सो अवस्थाबाट बजार माथि जाने विश्वास गर्न सकिन्छ । 
ती जानकारको भनाईमा पूँजीगत लाभकरको अन्यौल हटाउने गरी सिडिएससीले सिस्टम निर्माणको काम गरिरहेको छ । डाटा माइग्रेसनको काम अन्तिम चरणमा रहेको र पूँजीगत लाभकरकै लागि ब्रोकर कार्यालयमै लगानीकर्ता धाउनुपर्ने अवस्था यही साता अन्त हुने भएपछि यसले समेत निकट भविष्यमै बजारमा सकारात्मक तरंग ल्याउनसक्ने उनको दाबी छ । 

नेपाल राष्ट्रबैंकले 'फोर्स र बिग मर्जर'को हल्ला पिटाएर मौद्रिक नीतिमा भने नरमधार पक्रिएपछि र त्यसपछि बैंकहरुको नाफा र आम्दानीमै ठूलो असर गर्ने गरी स्प्रेड गणनाको नयाँ विधि र अन्य अनुपातहरुलाई समेत कार्यान्वयनमा ल्याउन निर्देशन दिएसँगै बैंकहरुको लगानी के हुन्छ भन्ने अन्यौलमा लगानीकर्ता छन् । यसले समेत उनीहरुको मनोबल माथि उठ्न दिएको छ । 

पछिल्लो दिनमा राष्ट्रबैंकले बैंकहरुको नाफा र आम्दानी घट्ने गरी गरेको परिपत्र र केही व्यवस्थामाथि पुनरविचार गरिदिनुपर्ने लविङमा बैंकरहरु छन् ।

उनीहरु अर्थमन्त्रीसम्म पुगेर बैंकहरुको भविष्य धरापमा पर्ने गरी जारी भएको परिपत्र सच्याउनुपर्ने पक्षमा छन् । तर, उनीहरुको कुरामा अर्थमन्त्रीले ठोस रुपमा केही बोलिहालेका छैनन् । यसले समेत लगानीकर्तामा अर्को अन्यौलको सिर्जना भएको देखिन्छ । यस्ता बग्रेल्ती अन्यौलहरुले समेत बजारलाई गिरावटतर्फ धकेलिरहेको देखिन्छ । 

यही सिलसिलामा मंगलबार पनि नेप्से परिसूचक ८.४३ अंकले घटेर १२१३.६३ को विन्दूमा सीमित बन्न पुगेको छ । नेप्से परिसूचक ११०० को लाइनमा झर्ने बाटोतर्फ उन्मुख भइरहँदा मंगलबार कारोबार रकममा मन्दी आएको छ । यो दिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा निकै कमी भई २७ करोड २५ लाखमा सीमित बन्न पुगेको छ । 

राम्रा तथा बलियो कम्पनीको सेयरमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स १.७६ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.५८ अंकको गिरावट देखिएको छ । 

यो दिन ट्रेडिङ समूह ६.५९ अंकले बढे पनि बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । 

बैंकिङ समूह ६.८३ अंकले घटेको यो दिन होटल समूहमा १३.८४ अंक, विकास बैंक समूहमा ७.०४ अंक, जलविद्युत समूहमा १३.२८ अंक, बित्त समूहमा २.०४ अंक, निर्जीवन बिमा समूहमा २५.५९ अंक, माइक्रोफाइनान्स समूहमा १३.१२ अंक, जीवन बिमा समूहमा ५६.१६ अंक, उत्पादन तथा प्रशोधन समूहमा ११.८६ अंक र अन्य समूहमा ५.३४ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६५ कम्पनीका ११ लाख ७३ हजार ५१० कित्ता सेयर २७ करोड २५ लाख, ९ हजार २० रुपैयाँमा किनबेच भए । 

यो दिन सबैभन्दा बढी सोल्टी होटल लिमीटेडले ४ करोड ३५ लाख बढीको कारोबार गर्यो । 

रसुवागढी जलविद्युत कम्पनीले १ करोड ६५ लाख बढीको कारोबार गरेको यो दिन एनआइसी एशियाले १ करोड ३२ लाख, नेपाल बैंकले १ करोड ३ लाख, नवील बैंकले ९७ लाख, महालक्ष्मी विकास बैंकले ८४ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ८० लाख, साञ्जेन जलविद्युत कम्पनीले ७४ लाख, कृषि विकास बैंकले ७४ लाख र अपर तामाकोशीले ६९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन विशाल बजार कम्पनी लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.६२ अंकले बढ्यो । 

पाँचथर पावर कम्पनीका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमा नेगेटिभ सर्किट लाग्यो । सेयर मूल्य घटेर १०४ रुपैयाँ प्रतिकित्तामा सीमित बन्न पुगेको छ ।