-अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा जम्मा ४ दिन कारोबार भयो । सबै दिन नै बजार घट्यो । अघिल्लो साता सेयर बजार १८७०.६३ मा बन्द भएकोमा यो साता १८४४.१४ मा बन्द भयो । यो हिसाबले बजार यो साता २६.४९ अंकले घट्यो ।
साताको ४ कारोबार दिनमा बजारमा २ अर्ब ४२ करोड २५ हजार रुपैयाँको सेयर किनबेच भयो । जबकि यस्तो कारोबार अघिल्लो साता ३ अर्ब ३३ करोड ४८ लाख बराबर भएको थियो । यस हिसाबले सेयर बजारमा यो साताको प्रदर्शन उत्साहजनक रहेन । कारोबार र सूचक दुवैमा गिरावट आउँदा यस्तो अवस्था बनेको हो ।
कारोबार र सूचक दुवैमा गिरावट आएको यो साताको बजारको प्राविधिक पक्ष चाहिँ कस्तो रह्यो त ?
सिमेट्रिकल ट्रयाङ्गल प्याटर्न
सिमेट्रिकल ट्रयाङ्गल प्याटर्न भन्नाले बजार अनिर्णयको बन्दीमा पर्नु वा साइडवेजमा जानु हो । यस्तो बजारमा भोल्युम र कारोबार रकम दुवै निरन्तर घट्दो क्रममा हुन्छ । यस अवस्थामा बजारमा खरिदका लागि लगानीकर्ताहरुले अपवार्ड ब्रेकआउट कुरेका हुन्छन् (हेर्नुहोस कालो एरो ) ।
त्यसैगरी, स्टप लसका लागि भने तलको लाइन अर्थात ब्रेक डाउन कुरेका हुन्छन् (हेर्नुहोस रातो एरो)।
गत जुलाईदेखि नेप्सेको चार्टलाई आवर्ली बेस्डमा हेर्ने हो भने यस्तो खालको आकृति बनेको देखिन्छ । यो भनेको बजार अनिर्णयको अवस्थामा रहेको छ भन्ने हो । यदि आगामी दिनमा बजारले माथिको लाईनलाई ब्रेक गरेमा बुलिस तर, तलको लाईनलाई ब्रेक गरेमा बियरिस यात्रा तय गर्ने सम्भावना हुन्छ ।
बोलिङ्गर ब्याण्ड, म्याक्डी र आरएसआइ
साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डमार्फत हेर्दा बजारले लगातार तीन सातादेखि तल्लो विन्दुमा सपोर्ट लिएको दखिन्छ । योसँगै बजारको माथिल्लो ब्याण्ड र तल्लो ब्याण्डको दूरी घट्दै गएको देखिन्छ । म्याक्डीमार्फत बजारलाई हेर्दा २४ जुलाईमा बुलिस बनेको बजार हालसम्म पनि भ्यालिड रहेको छ भने हिस्टोग्राम पोजिटिभ नै रहेको देखिन्छ । तर हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन् । साप्ताहिक रुपमा नै आरएसआई हाल ओभरसोल्ड जोन ३० नजिक रहेको छ ।
पिभट विश्लेषण
पिभट विश्लेषण प्रयोग गरी भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाब निकालिन्छ । बजारको आगामी साताको पिभट प्वाइन्ट यस्तो रहेको छः
बढेमा प्रतिरोध
प्रतिरोध १ १९५८
प्रतिरोध २ २०६३
प्रतिरोध ३ २१३७
पिभट प्वाइन्ट: १८८४
घटेमा सपोर्ट
सपोर्ट १ १७८०
सपोर्ट २ १७०६
सपोर्ट ३ १६०१
निश्कर्ष: साप्ताहिक रुपमा बजार यो साता २६ अंकले घट्यो भने कारोबारमा पनि गिरावट देखियो । प्राविधिक रुपमा बजारमा अहिले नेप्सेले कुनै प्रष्ट बाटो समात्ने संकेत देखिदैन । विगत तीन महिनाको बजारको अवस्थालाई आवर्ली बेस्डमा हेर्दा सिमेट्रिकल प्याटर्न बनेको देखिन्छ । यो भनेको बजार अन्यौलमा फसेको छ भन्ने हो । यदि आगामी दिनमा बजार पहिलेको न्यून विन्दु १८०६ भन्दा तल गएमा बियरिस र १९१० भन्दा माथि गएमा बुलिस यात्रामा जानसक्ने देखिन्छ । बजारको अहिलेको मुभमेन्टमलाई नियाल्दा सिमेट्रिकल प्याटर्नमार्फत अपवार्ड ब्रेकआउट हुन अझै केही समय लाग्ने देखिन्छ ।
(नोट: सेयर बजारमा प्राबिधिक विश्लेषण एक औजारमा आधारित अनुमान मात्र हो । लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम बहन गर्नसक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर मात्र गर्नुपर्छ । यो विश्लेषण कुनै पनि कारोबारका लागि सिफारिस भने होइन ।)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19