काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि अर्थमन्त्री जनार्दन शर्माले पहिलोपटक पत्रकार सम्मेलन डोकेका छन्।

पत्रकार सम्मेलन आज अपराह्न ४ बजे डाकिएको छ। पत्रकार सम्मेलनमा अर्थ मन्त्रालयको सुवर्ण हलमा हुनेछ। 

देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिने उद्देश्य पत्रकार सम्मेलन गर्न लागिएको जनाइएको छ। यद्यपि गभर्नर अधिकारीलाई निलम्बन गरेपछि यसअघिका सरकारमा एमालेका तर्फबाट अर्थमन्त्री भएका तीन नेताहरुले हिजो पत्रकार सम्मेलन गर्दै देश आर्थिक संकटोन्मुख रहेको र यसको जिम्मेवार अहिलेको सरकार रहेको ठहराएका थिए। 

तिनै पूर्वअर्थमन्त्रीहरुलाई काउन्टर दिन आज शर्माले पत्रकार सम्मेलन डाकेको हुन सक्ने अनुमान गरिएको छ। पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई निलम्बन गरेपछि आफू र सरकारमाथि लागेको आरोपको बचाउ गर्ने पनि बताइएको छ। 

गत साता मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रीलाई असहयोग गरेको भन्दै गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो। गभर्नरलाई निलम्बन गरेपछि अहिले चौतर्फी रुपमा सरकारको आलोचना र विरोध भइरहेको छ।