काठमाण्डौ । अपर चौरीखोला हाइड्रोपावर आयोजनामा दुई सरकारी बैंकले वित्तीय व्यवस्थापन गर्ने भएका छन्। 

कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि र बैंकबीच एक कार्यक्रमबीच यस सम्बन्धमा सम्झौतामा हस्ताक्षर भएको छ। 

काभ्रे र सिन्धुपाल्चोकको बीचमा रहेको चौरीखोला बन्न लागेको ६ मेगावाट आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्न लागेका हुन्। आयोजना १ अबर १२ करोड कुल लागतमा बन्न लागेको छ। जसमा आयोजना कम्पनीले ३५ प्रतिशत र ६५ प्रतिशत लगानी दुई बैंकले गर्ने भएका छन्। ६५ प्रतिशतलाई १०० प्रतिशत मानेर राष्ट्रिय वाणिज्य बैंकले ६० प्रतिशत र कृषि विकास बैंकले ४० प्रतिशत लगानी गर्ने भएका छन्।

वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने कम्पनीका तर्फबाट जुद्धबहादुर गुरुङले हस्ताक्षर गरेका छन्। 

हस्ताक्षरपछि राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठले यस कम्पनीमा लगानीले बैंकलाई जलविद्युत क्षेत्रमा थप नयाँ अनुभव प्राप्त हुने विश्वास लिएको बताए। उनले आयोजनासम्बन्धी कम्पनीले गरेका प्रतिवद्धता पूरा गर्न सुझाव दिए। 

सीईओ श्रेष्ठले जलविद्युत क्षेत्रमा लगानीकर्ताबीच विवाद हुने र आयोजना अलपत्र पर्ने देखिएको भन्दै निर्धारित समय सीमा र लागतमै आयोजना सम्पन्न गर्नुपर्ने बताए। ‘जलविद्युतमा लगानी गर्नेहरुबीच सुरुमा राम्रै सम्बन्ध भएपनि आयोजना बन्न लागेपछि गाडी कसले चढ्ने, सेयरलगायतका विषयलाई लिएर विवाद गर्ने र आयोजना अलपत्र परेका धेरै उदाहरण छन्। यो आयोजनामा त्यसो नहोस् समय र लागत सीमामै रहेर आयोजना सम्पन्न गर्नुहोला, थप सहकार्यको लागि तयार छौँ’, सीईओ श्रेष्ठले भने। उनले आफूहरुले जे भन्यो त्यही गर्ने भएकोले सम्झौताअनुसार लगानी गर्न कुनै समस्या नआउनेसमेत बताए। 

त्यसैगरी लगानीकर्ता अर्को बैंक कृषि विकास बैंकका सीईओ उपाध्यायले आफूहरुले प्रतिबद्धता पूरा गर्ने भन्दै आर्थिक अनुशासन बस्न आयोजना कम्पनीलाई सुझाव दिए। व्यावसायिक कोणबाट आयोजना एकदमै राम्रो र सम्भवनायुक्त भएकोले आफूहरु लगानी गर्न तयार भएको बताए। 

सबै अध्ययन र प्रक्रिया पूरा गरेर सम्झौता गरेकाले आफूहरुबाट कुनै समस्या नहुने भन्दै उपाध्यायले आयोजना कम्पनीलाई सफलताको शुभकामना दिए। उपाध्यायले सरकारी बैंकले लगानी गरेको तर काम भएन भन्ने नहोस् भन्ने आफूहरुले चाहेको बताए। 

कार्यक्रममा हिमालयन वाटर रिसर्च एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको माउ कम्पनी कर्णाली जलस्रोत लिमिटेडका अध्यक्ष लोकबहादुर रावतले सम्झौताअनुसारकै लागनी र समय सीमाभित्र आयोजना सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे। दुवै सरकारी बैंकले लागनी गर्नुलाई सफलता भएको भन्दै रावतले २०७९ को दसैँमा बत्ती बाल्ने गरी काम अगाडि बढेको जानकारीसमेत दिए। 

अध्यक्ष रावतले वर्षायाममा पनि नरोक्ने भन्दै अहिले पनि आयोजना निर्माणको काम जारी रहेको जानकारी समेत दिए। ‘दुवै सरकारी बैंकले लागनी गर्नु हाम्रो लागि खुशीको कुरा हो। सम्झौताअनुसार लगानी र समय सीमाभित्र आयोजना सम्पन्न गर्नेछौँ’, उनले भने, ‘वर्षाको समयमा पनि काम रोकिने छैन, आउने दसैंमा बत्ती बाल्ने गरी परियोजनालाई अगाडि बढाएका छौँ।’

कर्णाली जलस्रोत लिमिटेडको ८० प्रतिशत सेयर रहेको र ३०० सेयर सदस्य रहेको जानकारी दिँदै अध्यक्ष रावतले सबैको विश्वासमा घात हुन नदिने प्रतिबद्धतासमेत जाहेर गरे। 

कार्यक्रममा हिमालयन वाटर रिसर्च तथा इनर्जी डेभलपमेन्ट कम्पनीका अध्यक्ष जुद्धबहादुर गुरुले सहभागी सबैलाई स्वागत गर्दै काबु बाहिरको अवस्था सिर्जना नभएसम्म निर्धारित समयमै आयोजना सम्पन्न गर्ने बताए। 

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकका डीसीईओ कविराज अधिकारी, उपकार्यकारी प्रमुख देवेन्द्ररमण खनाल, विभागीय प्रमुख सन्दीपजंग कार्की, विभागीय उपप्रमुख विनयरमण पौडेललगायत पदाधिकारीको सहभागित थियो भने कृषि विकास बैंकका उपमहाप्रवन्धक प्रताप सुवेदी, कर्जा तथा ट्रेड फाइनान्स विभाग प्रमुख मीनराज पौडेल, शिव भुसाललगायत उच्च अधिकारीहरुको सहभागिता थियो।

त्यस्तै, कर्णाली जलस्रोत लिमिटेडका निर्देशक अमरनारायण माली, भारत प्रसाईलगायतका पदाधिकारीको सहभागिता थियो भने हिमालयन वाटर रिसर्च एन्ड इनर्जी कम्पनीका प्रबन्धक अमृतराज अधिकारी, निर्देशक भैरव बोहरा, सिंहबहादुर लामा, दिलिप घिसिङ, शुसिला कार्कीगायतका सहभागिता थियो।