काठमाण्डौ । बेतन कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत भएको छ ।

यो कर्णाली प्रदेशको गौरवको आयोजना हो । ८८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाको ईआईए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको हो ।

ईआईए प्रतिवेदन स्वीकृत भएसँगै आयोजना निर्माणको बाटो खुलेको छ । विद्युत् विकास विभागले अनुमति दिएपछि वित्तीय व्यवस्था र विद्युत् खरीद सम्झौता (पीपीए) गरेर संरचना निर्माणको काम शुरू हुने बताइएको छ ।

४३९ मेगावाट(मेवा) क्षमताको उक्त आयोजना सुर्खेतको चौकुने गाउँपालिकादेखि अछामको ढकारी गाउँपालिकासम्म फैलिने अर्धजलाशययुक्त आयोजना हो ।

यसलाई बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको छ ।

आयोजनाबाट सुर्खेतको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिकाको वडा नं ७ र अछामको ढकारी गाउँपालिकाको वडा नं ६ र तुर्माखाँद गाउँपालिकाका वडा नं ३, ४ र ५ का बासिन्दा प्रभावित हुनेछन् ।

आयोजना निर्माणपूर्वका सबै काम पूरा गरेर डेढ वर्षभित्र संरचना निर्माणको काम शुरू गर्ने योजना रहेको छ । अहिले पहुँचमार्ग निर्माणको काम भइरहेको छ । 

यो आयोजना सञ्चालन गर्न सन् २०१७ अक्टोबरदेखि नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनीयरिङ कम्पनी लिमिटेडले अध्ययन सुरु गरेको थियो। 
लगानी सुनिश्चित भए अबको डेढ वर्षभित्र काम शुरूहुने स्रोतले बताएको छ । लगानीको स्रोत भने सुनिश्चित भएको छैन । 

आयोजना निर्माण थालेको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । कूल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी हुनेछ ।

स्वपूँजी जुटाउन सञ्चय कोषका सञ्चयकर्तालाई ४० प्रतिशत, कोषलाई १५ प्रतिशत, नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनीलाई १०/१० प्रतिशत सेयर स्वामित्व दिने तय भएको छ ।

कम्पनीले सर्वसाधारणलाई १३ प्रतिशत, आयोजना प्रभावितलाई १० प्रतिशत र अतिविपन्न परिवारलाई २ प्रतिशत सेयर स्वामित्व दिने तय भएको बताइएको छ ।