काठमाण्डौ ।अरुण भ्याली हाइड्रोपावरको २६ औं बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

सभा कम्पनीका अध्यक्ष जीवन राज शाक्यको अध्यक्षतामा सम्पन्न भएको हो । 

सभाले आव २०७९/८० को प्रयोजनको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ।

कोशी प्रदेशको संखुवासभा जिल्लामा बहने पिलुवाखोलामा निर्माण गरिएको ३.० मेगावाट क्षमताको पिलुवाखोला साना जलविद्युत आयोजना कम्पनीले निर्माण गरेको पहिलो आयोजना हो।

यस आयोजनाले विसं २०६० साल असोज १ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ ।

आयोजनाबाट उत्पादित विद्युतले नेपालका पूर्वी पहाडी जिल्लाहरुलाई लोडसेडिङ्ग मुक्त बनाउन ठुलो योगदान गरि रहेको कम्पनीले बताएको छ।

त्यसैगरि कम्पनीले ताप्लेजुङ्ग, पाँचथर सिमाना भएर बहने काबेली खोलामा ९.९४ मेगावाट क्षमता भएको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७८ साल चैत्र १२  गते देखि  व्यवसायिक उत्पादन सुरु गरेको छ ।

 कम्पनीले हाल सहायक कम्पनीमार्फत आयोजना निर्माण गर्ने निर्णय गरि पिके हाइड्रोपावर लिमिटे मा ५१ प्रतिशत  संस्थापक सेयरमा लगानी गरि ओखलढुङ्गा र रामेछाप जिल्ला भएर बहने लिखु खोलामा ३० मेवा क्षमताको लिखु खोला जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरेको छ।
 

साथै कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । नेपाल धितोपत्र बोर्डले भखरै मात्र कम्पनीलाई १:१ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।

कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता बराबरको सेयर निष्कासन गर्ने छ ।

धितोपत्र निकाष्सन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ।