काठमाण्डौ । सेयर बजारमा कुनै पनि कम्पनीको हकप्रद सेयरले ठूलो महत्व पाउँथ्यो। हकप्रद निकाल्न लागेको खबरले मात्रै कम्पनीहरुको सेयरभाउ उचालिने काम हुन्थ्यो। तर, अहिले परिस्थिति बदलिएको छ। हकप्रद सेयर बिक्न नै गाह्रो भइरहेको छ। 

यसको पछिल्लो उदाहरणका रुपमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरलाई लिन सकिन्छ। मागबमोजिम आवेदन नपरेकै कारण अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद थप गरिएको छ। 

यो कम्पनीले आफ्ना सेयरधनीहरु चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गरेको छ। कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँबराबरको हकप्रद बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको छ।

कम्पनीले गत भदौ १८ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ। यसमा आवेदन दिने म्याद असोज ७ गतेसम्म थियो। तर, मागबमोजिम आवेदन नपरेकै कारण यो हकप्रद भर्ने म्याद बढाएर असोज २२ गतेसम्म पुर्याइएको छ। 

यो कम्पनीमा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ। नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चारको ६ प्रतिशत तथा नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थाको २–२ प्रतिशत सेयर स्वामित्व रहेको छ। 

यसैगरी सर्वसाधारणतर्फ सर्वसाधारणको १५ प्रतिशत, स्थानीय १० प्रतिशत र २४ प्रतिशत कर्मचारी सञ्चय कोषको सेयर स्वामित्व रहेको छ। यो हिसाबले अपर तामाकोशीमा सर्वसाधारण (स्थानीय र कर्मचारी सञ्चय कोषमा आबद्ध कर्मचारीबाहेक) १ करोड ५८ लाख ८५ कित्ता रहेको छ भने ३ करोड ६० लाख ६ हजार कित्ता सेयर स्थानीय र कर्मचारी सञ्चय कोषमा आबद्ध कर्मचारीहरुको छ। 

सीडीएससीको तथ्यांकअनुसार आज बिहानसम्म २ लाख ९ हजार ८३५ आवेदकबाट कुल २ करोड ३२ लाख ६५ हजार ८०५ कित्ता सेयर माग भएको छ। जुन सर्वासाधारण (स्थानीय र कर्मचारी सञ्चय कोषमा आबद्ध कर्मचारीसहित)को कुल सेयर संख्या ५ करोड १८ लाख ९१ हजार कित्ताको करिब ४५ प्रतिशतमात्रै हो। यस हिसाबले ५५ प्रतिशतभन्दा बढी अर्थात करिब ३ करोड कित्ता सेयर अझै बिक्न बाँकी रहेको देखिन्छ। 

उता धितोपत्र बिक्री प्रबन्धक नागरिक लगानी कोषका अधिकारी नारायणप्रसाद घिमिरे भने फिजिकल रुपमा आवेदन लिने काम भइरहेकोले सर्वसाधारणतर्फबाट खरिद भएको सेयरको तथ्यांक यकिन भइनसकेको बताउँछन्। ‘आस्बा सेवाबाट भर्नेहरु १५ प्रतिशत सर्वसाधारण (स्थानीय र कर्मचारीबाहेक) सबै भरिसकेको हुन सक्छ’, उनले भने, ‘मु्ख्यगरी सेयर अभौतिकीकरण नगर्ने धेरै भएकोले तोकिएको अवधिमा मागबमोजिम आवेदन नपरेको हो। 

सरकारी निकायहरुको ५१ प्रतिशतबराबरको रकम प्राप्त भइसकेको पनि घिमिरेले जानकारी दिए। ‘सर्वसाधारणतर्फको सेयरमध्ये करिब ४५ प्रतिशत सब्सक्राइब्ड भइसकेको छ’, उनले भने, ‘फिजिकल रुपमा आवेदन दिने बढी भएकै कारण तोकिएको अवधिभित्र मागबमोजिम आवेदन नपरेको हो। त्यसैले समय बढाउनुपरेको हो।’

विशेषगरी सर्वसाधारणतर्फको स्थानीय र कर्मचारी सञ्चय कोषका कर्मचारीहरु धेरैको सेयर अभौतिकीकरण हुन बाँकी रहेको घिमिरे बताउँछन्। 

सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने अपर तामाकोशीको कुल कित्तामध्ये ४ करोड ४४ लाख कित्तामात्रै अभौतिकीकरण भएको बताउँछन्। यो कम्पनीको कुल सेयर संख्याको ४२ करिब ४२ प्रतिशतमात्रै हो। अझै ५८ प्रतिशत सेयर अभौतिकीकरण हुन बाँकी रहेको सीडीएससीको डाटाबाट देखिन्छ।

सीडीएससीसँग आउने तथ्यांक भनेको सर्वसाधारणतर्फ अभौतिकीकरण भएका र सी–आस्बाबाट भरेका सेयरधनीहरुको मात्रै रहेको प्रवक्ता न्यौपानेले स्पष्ट परे। उनले भने, ‘सीआरएन नम्बर लिने सर्वसाधारणहरुले पनि हकप्रद फिजिकल रुपमा भर्न पाउँछन्। आईपीओमा जस्तो सी–आस्बाबाटै भर्नुपर्ने बाध्यकारी व्यवस्था छैन।’

बजार जानकारहरु भने बजार घटेको बेला आइरहेका कम्पनीहरुको हकप्रद सेयरमा लगानीकर्ताको आकर्षण नदेखिएको बताउँछन्। ‘घट्दो बजारमा नेपाल धितोपत्र बोर्ड(सेबोन)ले धमाधम हकप्रद र प्रिमियममा आईपीओ ल्याउन दिइरहेको छ, यसले सप्लाई बढाएको छ’, एक बजार जानकारले भने, ‘अहिले सेयर बजारमा पूर्णकालीन रुपमा लागेका लगानीकर्ताहरु बजार घट्दा प्यानिक बनेका छन्। त्यसैले उनीहरुको आकर्षण हकप्रदमा घटेको देखिन्छ।’ 

हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।
अपर तामोकोशीको हकप्रद सहबिक्री प्रबन्धकमा भने सनराइज क्यापिटल रहेको छ।