काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज असोज २२ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत भदौ १८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा यही असोज ७ गतेसम्म आवेदन दिने म्याद थियो। मागबमोजिम आवेदन नपरेकोले अब यो हकप्रदमा आज असोज २२ गते बैंकिङसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको हो। 

कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँबराबरको हकप्रद बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका १० करोड ५९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको छ। 

सीडीएससीका अनुसार यो हकप्रदमा हिजो साँझ ५ बजेसम्ममा २ लाख ६१ हजार ६१८ आवेदकबाट २ करोड ९१ लाख ५६ हजार ७७४ कित्ता हकप्रद सेयर खरिद भइसकेको छ। 

यो कम्पनीमा ५१ प्रतिशत सरकार र ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ। नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चारको ६ प्रतिशत तथा नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थाको २–२ प्रतिशत सेयर स्वामित्व रहेको छ। 

यसैगरी सर्वसाधारणतर्फ सर्वसाधारणको १५ प्रतिशत, स्थानीय १० प्रतिशत र २४ प्रतिशत कर्मचारी सञ्चय कोषको सेयर स्वामित्व रहेको छ। यो हिसाबले अपर तामाकोशीमा सर्वसाधारण (स्थानीय र कर्मचारी सञ्चय कोषमा आबद्ध कर्मचारीबाहेक) १ करोड ५८ लाख ८५ कित्ता रहेको छ भने ३ करोड ६० लाख ६ हजार कित्ता सेयर स्थानीय र कर्मचारी सञ्चय कोषमा आबद्ध कर्मचारीहरुको छ। 

धितोपत्र बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार यो हकप्रदमा स्थानीय र कर्मचारी सञ्चय कोषमा आबद्ध कर्मचारीहरुलाई छुट्याइएको सेयरमा पूर्ण रुपमा आवेदन पर्न बाँकी रहेको छ। ‘सरकार र सर्वसाधारणको हिस्साबराबरको हकप्रद लगभग बिक्री भइसकेको छ’, कोषका एक अधिकारीले भने। 

हकप्रद निष्कासनार्थ कम्पनीले गत साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो। यसको अर्थ साउन २५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो कम्पनीको हकप्रदमा आउने दिने पाउनेछन्। 

लगानीकर्ताले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। कम्पनी र धितोपत्र बिक्री प्रबन्धकले तोकेको स्थानबाट हकप्रदमा आवेदन दिन पाइने व्यवस्था गरिएको छ। 

हाल कम्पनीको चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्तापुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।
अपर तामोकोशीको हकप्रद सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।