काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद सोमबारबाट सकिएको छ।

दोलखामा सञ्चालित ४५६ मेगावाट क्षमताको उक्त कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीलाई शतप्रतिशत अर्थात् १ कित्ता सेयर बराबर एक कित्ताको प्रतिसेयर १०० रुपैयाँ अंकित दरको हकप्रद सेयर निष्कासन गरेको थियो ।
हकप्रद सेयर निष्कासन गरेपछि संकलित रकम कम्पनीले ऋण चुक्ता गर्ने र केही रकम भने रोल्वालिङ हाइड्रोपावरमा लगानी गर्ने यसअघि नै बताइसकेको छ ।
कम्पनीका अनुसार संस्थापकहरू नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयरबापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन्। जस अनुसार ती कम्पनीले  ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका छन्।

पूर्वनिर्धारित योजना अनुसार कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणहरूबाट ५ अर्ब १८ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्ने थियो। जसअनुसार कम्पनीले हकप्रद भर्न समय थप गर्दा पनि ३ करोड ८ लाख ७२ हजार ६५६ कित्ता शेयरको लागि मात्र आवेदन परेको छ ।

उक्त अवधिसम्ममा ३ अर्ब ८ करोड ७२ लाख ६५ हजार ६०० रुपैयाँको मात्र आवेदन परेको छ  । सीडीएससीका अनुसार आवेदन दिने अन्तिम दिन सोमबारसम्ममा क्रम्पनीको हकप्रदमा २ लाख ७५ हजार २०४ जनाले आवेदन दिएका छन्। तर पनि कम्पनीको हकप्रदमा भौतिक रूपमा परेको आवेदनको संख्या भने यसमा समावेश छैन।

 यसले कम्पनीको करीब ८० प्रतिशत हकप्रद शेयर बिक्री नभएको संकेत गर्दछ । त्यसो त बिक्री प्रबन्धकले आवेदन दिने विभिन्न स्थानहरुमा सर्वसाधारणको हकप्रद भर्न भिड लागेकोले समग्रमा ८५ प्रतिशत हकप्रद सब्स्क्राइब भएको अनुमान गरेको छ। कम्पनीले  असोज २२ गतेसम्म हकप्रद भर्ने समय थपेको थियो । 

हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।
 हकप्रद बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। 

अब आवेदन नपरेको बाँकी सेयरलाई कम्पनीले लिलाम बढाबढमा बिक्री गर्ने छ ।मंगलबारको बजारमूल्य अनुसार कम्पनीको सेयर कारोबार २०३ रुपैयाँमा भइरहेको छ ।

किन सेयरधनीको प्राथमिकतामा परेन ?

नजिकिंदै गएको दसैंतिहारको कारण पनि सेयरधनी अहिल्यै नै कम्पनीको हकप्रद खरीद गर्न इच्छुक थिएनन् । त्यसमाथि पनि विभिन्न कम्पनीको आईपीओमा भर्दा तत्कालै नाफा हुने गरेकाले सेयरधनी हकप्रदतर्फ आकर्षित थिएनन् ।

अर्कोतर्फ आयोजना महँगो कि सस्तो भन्ने बारेमा पनि चर्चा भइरहेको छ । कम्पनीको लागतको सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका छन्, जुन स्वाभाविक छ । आयोजनाको लागत बढेको सत्य हो र यसको टाउकोमा ठूलो ऋण पनि छ । यसले कहिले सेयरधनीलाई लाभांश दिन्छ भन्ने बारेमा पनि उत्पादन शुरु भएको यतिका दिनसम्म पनि अन्यौल कायमै छ । 

जबसम्म कम्पनीले आप्नो दिर्घकालिन र अल्पकालिन ऋण तिर्न सक्दैन तबसम्म लगानीकर्तालाई लाभांश बाँड्न सक्ने पनि देखिदैन । 

शेयरधनीहरूको आम्दानी वृद्धि गर्न रोल्वालिङ आयोजनाको निर्माण

रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको ड्याममा झारेर करिब २०.६६ मेगावाटको जलविद्युत् उत्पादन गर्ने गरी रोल्वालिङ आयोजनाको काम भइरहेको छ । यो आयोजनाको लाइसेन्स अपर तामाकोशीकै छ । यो आयोजना सम्पन्न भएपछि रोल्वालिङको पानी समेत थप हुने हुँदा माथिल्लो तामाकोशीको विद्युत् उत्पादन समेत बढ्नेछ ।

यसपछि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आम्दानी बढ्नेछ । यसरी रोल्वालिङ आयोजना र त्यसको कारणले माथिल्लो तामाकोशीमा बढेको आम्दानीले गर्दा शेयरधनीहरूको लाभांश बढ्नेछ ।