-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । अपर तामाकोशीको लिलामीको सेयर भर्नको लागि राजधानी काठमाण्डौस्थित् सनराइज क्यापिटलमा  लगानीकर्ताहरुको भिडभाढ बढ्दै गएको छ ।

कम्पनीले नविकेको सर्बसाधारणतर्फको हकप्रद सेयरलाई गत पुस १३ गतेदेखि २९ गतेसम्म १ करोड ७० लाख कित्ता सेयर बोलकबोलमार्फत् सर्वसाधारण तथा संस्थाहरुका लागि बिक्रीमा ल्याएको छ ।

उक्त म्याद नजिकिदै जाँदा सनराइज क्यापिटल र नागरिक लगानी कोषको कार्यालयमा सर्वसाधारणको भिढ्भाढ बढ्न थालेको हो । यो प्रतिनिधि मंगलबार अपरान्ह सनराइज क्यापिटलमा पुग्दा केहि लगानीकर्ताहरु लिलामी सेयर भर्न व्यस्त देखिन्थे भने कतिपय बोलकबोल फारम कार्यालयमा बुझाउन ब्यस्त देखिन्थे ।

उक्त कार्यालयमा भेटिएका एक लगानीकर्ताले क्यापिटलको व्यवस्थापन पक्ष कमजोर रहेको भन्दै बोलकबोल फारम बेचेर नै १ करोड रुपैयाँ कमाउन खोजेको आरोप लगाए । 

ती लगानीकर्ताले यस्तो बोलकबोलको सेयर पनि अनलाईन आबेदनबाट दिन सकिने व्यवस्था गर्नुपर्ने भन्दै कम्पनीको सह धितोपत्र निकाष्सन तथा बिक्री प्रबन्धक क्यापिटलको कार्यालयमा आएर फारम भर्न कठिन भएको बताए ।

सोही स्थानमा  फारम भर्नका लागि आएका अर्का एकजना लगानीकर्ताले अधिकांश लगानीकर्ता साना र मझौला खालका लगानीकर्ता भएको बताए ।

ती लगानीकर्ताले धेरैजसोले ५० हजार रुपैयाँभन्दा तलको  आबेदन दिएको र कम्पनीको सेयरमा प्रतिकित्ता १२० देखि १३० रुपैयाँको दरले आबेदन दिएको दाबी गरे । 
 

ती लगानीकर्ताले भने, ‘कतिपयले चाहिं प्रतिकित्ता १०० रुपैयाँमा पनि भरेका छन् भने केहिले भने यसमा केहि बढाएर पनि सेयर भरेका छन् ।’
अर्का लगानीकर्ताले चाहिं लामो समयसम्म रकम होल्ड हुने भएको कारण ठूला र  संस्थागत लगानकर्ता भने कमै मात्रामा आकर्षित हुन सक्ने बताए ।

उनका अनुसार अपर तामाकोशीको सर्वसाधारणतर्फको हकप्रदसहित १० करोडभन्दा बढी सेयर एकै पटक दोस्रो बजारमा सूचीकृत भएर आउँदै छ । त्यो बेलाको बजार कस्तो रहन्छ ? यसतर्फ पनि लगानीकर्ताले पूर्वानुमान लगाउन आवश्यक हुन्छ ।

यसैगरि, कम्पनीको धितोपत्र निकाष्सन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषको कार्यलय बानेश्वरमा भेटिएका केहि लगानीकर्ताहरुले कम्पनीको लिलामी सेयरमा सर्बसाधारणको खासै आकर्षण नभएको बताए । विगतको प्रसंगलाई सम्झदैं ती लगानीकर्ताले भने, ‘एक पटक एभरेष्ट बैंकको सेयर १०० रुपैयाँमा पनि बिक्री हुन सकेन । दोस्रो पटक लिलामीको सूचना निकाल्नु परो ।  यो कम्पनीको पनि धेरै कित्ता छ । सबै कित्ता एकैपटक बिक्री होला जस्तो लाग्दैन, कठिन नै छ । किनकि दोस्रो बजारमा पनि खासै चलेको अवस्था छैन।’
 

नागरिक लगानी कोषका पूँजीबजार विभागका उपकार्यकारी निर्देशन नारायण प्रसाद घिमिरेले लिलामी बोलकबोलका लागि हालसम्म १५ हजार आवेदन फारम बिक्री गरेको बताए ।

जसमा हालसम्म १ हजार ५०० आबेदन मात्रै परेको छ। उनका अनुसार आइतबारसम्म आबेदन दिने म्याद रहेकाले आबेदन दिने क्रम अझै बढ्ने बढ्न सक्छ । 

कम्पनीको लिलामी सेयर बोलकबोलमा आबेदकले न्युनतम १००कित्तादेखि १ करोड ७० लाख कित्तासम्म आबेदन दिन पाउने छन् । दोस्रो बजारमा मंगलबार कम्पनीको सेयरभाउ १९८ रुपैयाँ छ ।