काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको सर्बसाधारणतर्फको  लिलामी सेयरमा आवेदन दिन आइतबार लगानीकर्ताहरुको अचाक्ली भिड लागेको छ ।

आइतबार आवेदन  दिने अन्तिम दिन पनि रहेकाले नागरिक लगानी कोष र सनराइज क्यापिटलमा  लगानीकर्ताहरुको त्यस्तो भिड लागेको हो ।

कम्पनीले नविकेको सर्बसाधारणतर्फको हकप्रद सेयरलाई गत पुस १३ गतेदेखि आजसम्म १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर बोलकबोलमार्फत् सर्वसाधारण तथा संस्थाहरुका लागि बिक्रीमा ल्याएको हो । 
 

कम्पनीको सेयरमा न्यूनतम १०० रुपैयाँमा आवेदन दिन पाइने भएता पनि यो दिन कोषमा आएर आवेदन भरिरहेका अधिकांश लगानीकर्ताको मनौवैज्ञानिक अवस्था र फारममा उल्लेख गरेको रकम हेर्दा विल्कुल फरक रहेको पाइएको छ ।

अधिकांश साना तथा मझौला लगानीकर्ताले पनि ५० हजार रुपैयाँभन्दा तलको  आबेदन र कम्पनीको सेयरमा प्रतिकित्ता १५० देखि १६० रुपैयाँको दरले आबेदन दिएका छन् ।। 
 
कोषको परिसरमा भेटिएका एक  जना लगानीकर्ता प्रितम सापकोटाले प्रतिकित्ता ११० रुपैयाँका दरले आवेदन दिने सोच बनाएर आएको तर यहाँ आउँदा अर्कै परिस्थिति देखेपछि थोरै परिमाणमा भएपनि १६० रुपैयाँ प्रतिकित्ताको दरले आवेदन भरेको बताए ।

उनका अनुसार  अधिकांशले प्रतिकित्ता १५५ रुपैयाँदेखि माथि र ठूलो लगानीकर्ताले त १६० रुपैयाँसम्ममा पनि भरेका छन् ।
 

कतिपय लगानीकर्ताले चाहिं करिब तीन महिनासम्म रकम बिक्री प्रबन्धकले नै होल्ड गर्ने र दोस्रो बजारमा सूचीकृत हुने समयमा सम्ममा कम्पनीको सेयर सस्तोमा पाइने भएकाले भर्न नचाहेको बताए । 
 

अर्का लगानीकर्ता रमेश पोख्रेलले भने, ‘हौसिएर आवेदन दिनुको कुनै अर्थ छैन, सूचीकृत भएर आउने बेलाको बजारले लगानीकर्तालाई अपठ्यारो पर्न सक्छ ।’

कोषको कार्यलय बानेश्वरमा लागेको अचाक्ली भिड र अघिल्ला दिनहरुमा बिक्री भएको फारमलाई आधार मान्दा कम्पनीको सेयरमा करिब ५ अर्ब रुपैयाँभन्दा बढीको आवेदन पर्ने अनुमान छ ।

स्रोतका अनुसार अहिले सम्म ३० हजारभन्दा बढी फारम बिक्री भएको  छ।देशभरका फारम संकलन गर्न मात्रै १५ दिन लाग्ने कोषको विशेष सूत्रले बताएको छ ।

कम्पनीको लिलामी सेयर बोलकबोलमा आबेदकले न्युनतम १००कित्तादेखि १ करोड ७० लाख कित्तासम्म आबेदन दिन पाउने छन् ।

कम्पनीको सर्वसाधारणतर्फको हकप्रदसहित १० करोडभन्दा बढी सेयर एकै पटक दोस्रो बजारमा सूचीकृत भएर आउँदै छ ।दोस्रो बजारमा आइतबार कम्पनीको सेयरभाउ २०० रुपैयाँ छ ।