काठमाण्डौ । अपी पावर कम्पनी लिमीटेडले आफ्ना सेयरधनीहरुलाई २ अर्ब रुपैयाँ बराबरको २ सय प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ । 

हकप्रद सेयरका लागि बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमीटेड नियुक्त भएको छ । अपीको २ सय प्रतिशत हकप्रद जारीको प्रक्रिया नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा राखेको बताइएको छ । 

२०७२ चैत २७ गते भएको अपी पावर कम्पनीको पहिलो विशेष साधारणसभाले आगामी जलविद्युत आयोजना निर्माणका लागि पूँजी जुटाउने उद्देश्यले आफ्ना सेयरधनीलाई १ः२ को अनुपात अर्थात २ सय प्रतिशत हकप्रद दिने संचालक समितिको प्रस्तावलाई अनुमोदन गरेको थियो । 

अपी पावर कम्पनी लिमीटेडका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेका अनुसार नेपाल धितोपत्र बोर्डले प्रस्ताव गरिएको हकप्रद निश्कासनको अनुमति आगामी साताभित्रमा दिने अधिक संभावना छ । त्यसपछि बुक क्लोजरको नोटिस असार अन्तिममा जारी हुने र हकप्रदका लागि आवेदन मागिने उनले जानकारी दिए । 

कम्पनीको चुक्तापूँजी हाल एक अर्ब रहेको छ । उसले आगामी प्रोजेक्टका लागि २ अर्ब पूँजी थप्ने उद्देश्यले २ सय प्रतिशत हकप्रद निश्कासन गर्न लागेको हो । 

यो कम्पनीले सिद्धकाली पावर लिमीटेडमा ८० प्रतिशत लगानी गर्दैछ । सिद्धकालीले ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी हाइड्रोपावर प्रोजेक्ट बनाउँदैछ । अपी पावरले दार्चुलाको नौगरगढ नदीमा ८ मेगावाट क्षमताको अपर नौगरगढ हाइड्रोपावर समेत निर्माण गरिरहेको छ । यसभन्दाअघि यो कम्पनीले १७ महिनाको अवधिमा ८.५ मेगावाट क्षमताका विभिन्न हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिसकेको छ । 

यो पावर कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १ करोड ५३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । हाल यो कम्पनीको अधिकृत पूँजी १ अर्ब २५ करोड, जारी पूँजी १ अर्ब र चुक्तापूँजी पनि १ अर्ब रहेको छ ।