काठमाण्डौ । अपी पावर कम्पनीले लिमिटेडले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। 

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि प्रस्तावित ७.५ प्रतिशतले हुन आउने बोनस सेयर वितरण कायम हुने चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २११.६९ रुपैयाँको ४० प्रतिशत अर्थात १ः०.४० को अनुपात हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। 

कम्पनीले सञ्चालन गरी विद्युत उत्पादन गरिरहेका आयोजनाहरुको ऋणमोचन गर्न यो हकप्रद जारी गर्ने निर्णय गरिएको जनाएको छ। यसका लागि विद्युत नियमन आयोगबाट स्वीकृति लिई आगामी १९ औँ वार्षिक साधारणसभाबाट पारित गर्ने कम्पनीले जनाएको छ। 

त्यसपछि हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइने र त्यहाँबाट अनुमति पाएपछि मात्रै हकप्रद जारी गरिने कम्पनीले जनाएको छ। 

कम्पनीले नौगडगाढ जलविद्युत आयोजना (८.५ मे.वा)को ३२ करोड २९ लाख ९० हजार ५९०.४३ रुपैयाँ, अप्पर नौगडगाढ जलविद्युत आयोजना (८ मे.वा.) को १ अर्ब ५ करोड ८८ लाख ५० हजार रुपैयाँ, चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना (४ मे.वा.) को २१ करोड ६५ लाख ८३ हजार ४७५ रुपैयाँ, ढल्केवर सौर्य विद्युत आयोजना (१ मे.वा.) ४ करोड ४३ लाख ५० हजार रुपैयाँ र सिमरा सौर्य विद्युत आयोजना (१ मे.वा.) को ४ करोड २८ लाख रुपैयाँ ऋणमोचन गर्न हकप्रद जारी गर्न लागिएको जनाएको छ।