काठमाण्डौ । अपी पावर कम्पनीले यही साउन ३१ गतेदेखि आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गर्दैछ। 

हकप्रद सेयर बिक्रीका अपी पावरले आज दरखास्त दिने स्थान निर्धारण गर्दै सार्वजनिक गरेको छ। जसअनुसार काठमाण्डौको नक्साल नारायणचौरस्थित मुक्तिनाथ क्यापिटलबाट अपी पावरको हकप्रद भर्न सकिनेछ। 

यसैगरी काठमाण्डौको थापाथलीस्थित अपी पावरको केन्द्रीय कार्यालय, मुक्तिनाथ विकास बैंकका शाखाहरु इटहरी, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा, नेपालगन्ज, धनगढी, सुर्खेत र महेन्द्रनगर तथा सीडीएससीको मेरो सेयर र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरुबाट पनि खरिद आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ। 

कम्पनीले चुक्तापुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँको १ः०.४ अर्थात ४० प्रतिशत हकप्रद बिक्री खुला गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्नेछ। 

कम्पनीले हकप्रद सेयर बिक्री गर्न गत असार २२ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत असार २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र यो हकप्रद भर्न पाउनेछन्। 

यो हकप्रदमा अपी पावरका लगानीकर्ताले आउँदो भदौ १९ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। 

कम्पनीले हकप्रद बिक्रीबाट उठेको रकम नौगडगाढ जलविद्युत आयोजना (८.५ मे.वा)को ३२ करोड २९ लाख ९० हजार ५९०.४३ रुपैयाँ, अप्पर नौगडगाढ जलविद्युत आयोजना (८ मे.वा.) को १ अर्ब ५ करोड ८८ लाख ५० हजार रुपैयाँ, चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना (४ मे.वा.) को २१ करोड ६५ लाख ८३ हजार ४७५ रुपैयाँ, ढल्केवर सौर्य विद्युत आयोजना (१ मे.वा.) ४ करोड ४३ लाख ५० हजार रुपैयाँ र सिमरा सौर्य विद्युत आयोजना (१ मे.वा.) को ४ करोड २८ लाख रुपैयाँ ऋणमोचन गर्नेछ। 

अपी पावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।