काठमाण्डौ । अप्पर लोहेरे खोला हाइड्रोपावरको सेयर भोलि सोमबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ। 

अप्पर लोहेरेको खोलाको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोहीअनुसार यो कम्पनीको सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ। 

कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २६ लाख कित्ता (५१ प्रतिशत) रहेको छ भने ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय र कर्मचारीसहित) रहेको छ। 

नेप्सेले यो कम्पनीलाई ‘यूएलएचसी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतममा ९७.८७ रुपैयाँ र अधिकतममा २९३.६१ रुपैयाँ तोकेको छ। 

भोलि स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबार खुल्नेछ।