-भक्तराज रसाइली
काठमाण्डौ । सफलता सहजै पाउने चीज होइन । सफलता निरन्तरको प्रयास र अध्ययनमा निर्भर रहन्छ । कुनै पनि सेक्टरमा हात हाल्दा अध्ययन भए मात्र सफल भइने दृष्टान्त बोकेको आजको स्टोरीमा काभ्रेका एक युवाको बिदेश यात्रा र स्वदेशमा हाल सेयर बजारको यात्राबारे खोतल्ने प्रयास गरेका छौ ।
कमल गौतमको स्थायी घर पाँचखाल ९ काभ्रे हो । हाल उनी पेप्सीकोला काठमाण्डौका बासिन्दा हुन् । करिब ४ वर्षमात्र भएको रहेछ, उनको सेयर बजारमा लगानीको यात्रा ।
२०५५ सालमा उच्च शिक्षाका लागि काभ्रेबाट राजधानी काठमाण्डौ आएका गौतमले उच्च शिक्षा अध्ययन गर्दै आफूले पनि अध्यापन गरे । पढाउँदै, पढ्दै उनले सन् २००४–०५ मा नेपाल कमर्श क्याम्पसबाट एमबीएस उत्तीर्ण गर्न सफल बने ।
व्यवस्थापन विषयमा डिग्री सकेपछि उनले विभिन्न कलेजहरुमा अध्यापन गर्न थाले । सन् २०१२ सम्म नेपालमै बसेर कलेजमा अध्यापन गर्दै नै थिए, स्कुल, कलेज र सहकारीहरुमा पनि आबद्ध र सक्रियता जनाउन थालेका उनले महिनाको डेढ लाख रुपैयाँसम्म कमाइ हुन्थ्यो । सेयर बजारबारे जानकार हुँदाहुँदै पनि त्यतिबेला जग्गा खरिदबिक्रीमा राम्रो प्रतिफल भएकाले उनले पनि जग्गामा लगानी गरेर राम्रै प्रतिफल आर्जन गरेछन् ।
आफूले सोंचेजस्तो र भनेजस्तो नभएपछि गौतमले बिदेश जाने सोंच राखे । सन् २०१२ मा चीन गएका उनी काम गर्नकै लागि अफ्रिकी मुलुकसमेत पुगे । सन् २०१३ मा अफ्रिका पुगेका उनले कार्गोसम्बन्धी कार्यालयमा अपरेशन मेनेजरको काम पाए । उनको मासिक कमाई नै ४–५ हजार अमेरिकी डलर हुन्थ्यो रे ।
सन् २०१७ को मध्यतिर भने गौतमले बिदेशमै रहँदा श्रीमतीलाई दोस्रो बजारमा लगानी गर्न अह्राउन थाले । सुरुमा प्रभु बैंकको ५० कित्ता सेयर प्रतिकित्ता ४१० रुपैयाँमा उनले खरिद गरे । पछि प्रभु बैंकको सेयरमूल्य १८० रुपैयाँ प्रतिकित्ता झर्दासम्म पनि सो बैंकको सेयर किनिरहे ।
गौतम अफ्रिकाबाट सन् २०१८ फेब्रुअरीमा नेपाल फर्के । करिब ६ महिना त्यतिकै आइडल नै बसे । त्यसपछि भने उनी सेयर बजारमा सक्रिय हुन थाले । आफूलाई ट्रेडर र इन्भेष्टर दुवै भन्न रुचाउने उनी ३० प्रतिशत नाफा टार्गेट राखेरै दोस्रो बजारमा लगानी गर्दा रहेछन् । लक्ष्यसहितको लगानी गरे सेयर बजारबाट फलिफाप नै हुुन्छ भन्ने शिक्षा उनीबाट पाउन सकिन्छ ।
उसो त उनले आफूसँग भएको करिब ७० प्रतिशत सेयरमा, २० प्रतिशत बैंकको मुद्धती खातामा र बाँकी १० प्रतिशत नगद तरल राख्दै आएका छन् । सेयर लगानी गर्दा भने आजका मितिसम्म ऋण लिएका रहेनछन् ।
गौतमले आफ्नो पोर्टफोलियोमा ६–७ वटा कम्पनीमात्र समावेश गर्दा रहेछन् । दीर्घकालीन लगानी र सुरक्षित लगानीका रुपमा वाणिज्य बैंक रोजाइमा पारेका उनले हिजोआज हाइड्रो सेक्टरमा समेत लगानी थप्दै गइरहेको जिकिर गर्छन् ।
वार्षिक रुपमा गौतमले लाभांश र पूँजीगत लाभ निकै लोभलाग्दो थाप्ने गरेको दाबी गरे, तर रकम भने खुलाउन चाहेनन् ।
नयाँ लगानीकर्ताहरुलाई सेयर बजारमा आउनुअघि वा जुनसुकै सेक्टरमा लगानी ओइराउँदा पढ्न सुझाउँछन् । गौतम भन्छन्–‘जे गर्ने हो त्यो बारेमा गहिराइमा अध्ययन गर्नुपर्छ । पैसा कमाउन धेरै नै मिहिनेत गर्नुपर्छ । रातारात पैसा कमाउने सपना सेयर बजारमा कदापि देख्न हुँदैन ।’ सम्हालिएर लगानी गर्न उनले जोड दिए ।
गौतमले दोस्रो बजारमा लगानी गरेयता सबैभन्दा धेरै मार्जिन खाएर बेचेको सेयर चाहिँ प्रभु बैंककै रहेछ । ८ हजार कित्ता सेयर १८० रुपैयाँ प्रतिकित्तामा किनेर २९३ रुपैयाँ प्रतिकित्तामा बेच्न भ्याएका उनै गौतमले बीओकेएलको ५० कित्तामात्रै ५२५ रुपैयाँ प्रतिकित्तामा किनेर ४६५ रुपैयाँ प्रतिकित्तामा बेच्दा भने घाटा भएको रहेछ । एकाध स्क्रिप्ट मात्र घाटामा बेचेको उनको भोगाइ छ ।
मुद्रास्फितिको दरलाई समेत समायोजन गर्न आफूसँग भएको सम्पति दोस्रो बजारमा लगानी गर्दै आइरहेको जिकिर गरेका गौतम आफूसँग रहेको फण्ड, कम्पनीको अपेक्षित आम्दानी र कम्पनीको वित्तीय अवस्था बारे विस्तृत अध्ययन गरेर मात्रै लगानी गर्न सल्लाह दिन्छन् । ‘सूचिकृत कम्पनीका ग्रोथलाई भने कहिल्यै भुल्न हुँदैन ।’उनले भने–‘यी सबै गर्न पढ्नैपर्छ । पैसा कमाउन त मिहिनेत गर्नै पर्ने हुन्छ नि ।’
नेप्से परिसूचकमा भएको उत्तारचढावमा भने गौतम बिन्दास रहेछन् । हाँसिरहन रुचाउने उनी बजारको गिरावट र उचाइमा कहिल्यै बिचलन नहुने दाबीसमेत गर्छन् । उत्तारचढावमा त उनी झन् रमाइलो पो मान्दारहेछन् । ४ वर्षे सेयर बजारको यात्राले आफूले आफैंलाई विश्वास गर्न सिकाएको उनको बुझाइ छ । ‘संसारले मलाई कहाँ मान्छ ? आफैंले मान्ने हो ।’उनले गर्विलो पारामा थपे–‘निर्धक्कसाथ दोस्रो बजारमा लगानी गरे जीवन पनि रमाइलो छ र लगानी पनि सुरक्षित छ।’
दोस्रो बजारमा हुने सेयर खरिदबिक्री रियल टाइम सेटलमेन्ट भए आम लगानीकर्ताहरुलाई सहज हुने गौतमको बुझाइ छ । नियामक निकायका नेतृत्वको भाषण सन्तुलन हुुनुपर्ने उनको ठम्याइ छ ।
कुनै पनि सेक्टरमा जागिरेले आम्दानीको केही प्रतिशत लगानी गरे जीवन सुन्दर हुने उल्लेख गर्दै गौतम १० प्रतिशत लगानी चाहिँ सेयर बजारमै गर्न सुझाउँछन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago