काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब आर्थिक सुधारलाई मूल मन्त्र बनाउन सबैलाई आग्रह गरेका छन्।

नेपालीहरुको महान चाडहरु बडादसैँ, तिहार, छठ एवं नेपाल संवतका अवसरमा महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन्। ‘हाम्रो भविष्य उज्ज्वल छ। हामी पौरखी छौँ। हामीले गर्न सक्छौँ’, उनले भने, ‘अब आर्थिक सुधारलाई मूल मन्त्र बनाऔँ।’

लगानी बढाउन र स्वदेशमै बढीभन्दा बढी रोजगारी सिर्जना गर्न भनेर महासंघले निरन्तर गरिरहेको पहल गरिरहेको ढकालले बताए। ‘कोही पनि चाडपर्वका बेला परिवारबाट टाढा नहोस्। दसैँ दशाका रुपमा नभई उत्साहका रुपमा सबै नेपालीको घरमा भित्रियोस् भन्ने हाम्रो चाहना हो’, उनले भने, ‘त्यसका लागि रोजगारीका पर्याप्त अवसर सिर्जना गरेर गरिबी हटाउनुपर्छ। रोजगारीका लागि लगानी आवश्यक हुन्छ। त्यो लगानी स्वदेशीले मात्र पुग्दैन विदेशी लगानी पनि चाहिन्छ। त्यसैको खोजीमा अहिले हामी जुटेका छौँ।’ 

पछिल्ला दुई दसैँ नेपाली उद्यमी–व्यवसायीका लागि त्यति उत्साहजनक नरहेको पनि अध्यक्ष ढकालले बताए। ‘कारण यहाँहरुलाई थाहै छ। मूलतः हाम्रा आफ्नै नीतिका कारण हामी समस्यामा परेका हौँ’, उनले भने, ‘आजको पावन अवसरमा म विगतलाई कोट्याएर निराश वन्न र यहाँहरुलाई पनि निराशामा राख्न चाहन्न।’ 

अध्यक्ष ढकालले अबको दिनमा अर्थतन्त्रमा सुधारका केही किरण देखिन थालेको पनि बताए। ‘प्रधानमन्त्रीज्यूले आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्ने कुरामा गत असोज २५ गते महासंघको कार्यक्रममा प्रतिबद्धता जनाउनुभएको छ’, उनले भने, ‘उक्त आयोगले तात्कालीन सुधारका लागि सबैतिर समन्वय र सहकार्य गर्नुका साथै नया पुस्ताको सुधारको खाका बनाउनेछ। यसमा निजी क्षेत्रको प्रतिनिधित्व अनिवार्य रुपमा रहने गरी व्यवस्था गर्नुपर्ने हाम्रो आग्रह हो।’ 

‘हामीले प्रस्ताव गरेको उक्त संयन्त्रले अन्य कुनै निकायको जिम्मेवारी खोस्ने छैन। यसमा आवश्यक कर्मचारी सम्बन्धित निकायबाट नै लिन सकिन्छ’, ढकालले भने, ‘अर्थ, उद्योग मन्त्रालय, योजना आयोग एवं नेपाल राष्ट बैंकको उच्च नेतृत्व यसमा रहनु आवश्यक हुने हाम्रो सुझाव हो।’ 

‘अर्थतन्त्रका बाह्य परिसूचक र तरलताको अवस्थामा सुधार भएको अहिलेको अवस्थामा समन्वयात्मक रुपमा अगाडि बढ्न सकियो भने हामी सुधारको नयाँ चरणमा प्रवेश गर्नेछौँ’, उनले भने, ‘किनभने अहिले आयात गर्न पर्याप्त सञ्चिति छ। सञ्चितिसँगै चालु खाता र शोधनान्तर अवस्थामा सकारात्मक रहेको हुँदा विदेशी लगानीकर्तालाई पनि ढुक्क हुने अवस्था छ। रेमिट्यान्सले बजार चलायमान बनाइ राख्ने नै छ। बैंक र वित्तीय संस्थाहरुसंग करिब ५ खर्ब रुपैयाँ छ। उनीहरु लगानी गर्न तयार छन् र हामीले थोरै सुधार गर्याँै भने ब्याजदर पनि कम हुँदै जानेछ। यसले बजारमा माग सिर्जना गर्ने नै छ।’ 

त्यसका लागि नीतिगत सुधार र स्थायित्वमा पूर्वसर्त रहेको पनि ढकालले बताए। ‘उच्चस्तरीय आयोगले त्यसको प्रत्याभूति गर्नेछ। अब हामीले सुधारका लागि ढिलाइ गर्नु हुँदैन’, उनले भने, ‘विश्वमा विभिन्न युद्धहरुले अनिश्चितता सिर्जना गर्दै गइरहेको छ। हाम्रो युवा उमेर अबको लाभ अबको ३० वर्षमा लिन सकिने छैन। त्यसैले सुधारका लागि सबै मिलेर पहल गरौँ।’