अर्जुन तिमिल्सिना/अनन्त्य सुन्दर

काठमाण्डौ । सरकारले भीष्मराज ढुंगानालाई बखास्त गरेसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष बन्न चाहने आकांक्षीहरुको चर्चा सुरु हुन थालेको छ। 

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सेबोन अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको छ। सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारमार्फत गलत ढंगले खरीद गरेको, ५१ वटा कम्पनीलाई जोखिमयुक्त भन्दै विभिन्न शक्तिकेन्द्रको प्रभावमा परेर सूची प्रकाशन गरेको, धितोपत्र बजारमा गैरकानूनी काम गरेको तथा बजार सम्बद्ध विभिन्न पक्षबाट आर्थिक लाभ लिएको लगायतका गम्भीर आरोप उनीमाथि लागेको थियो। 

यसअघि ढुंगानालाई अर्थमन्त्रालयले निलम्बन गरेको थियो। निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सरकारलाई उनलाई स्पष्टीकरण समेत बुझाएका थिए। तर स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो। 

ढुंगाना मुख्य रुपमा  ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई सेयर बिक्री खुलाउने पहिलो कम्पनी बन्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए। उनले बोर्डको अध्यक्ष भएकै बेला अमेरिकामा रहेकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको सेयर ओटिसी बजारबाट खरीद गरेका थिए। 

अध्यक्षको दौडमा सेबोनभित्रकै २ जनाको नाम अहिले निकै चर्चामा छ। स्रोतका अनुसार सेबोनमा लामो समयदेखि काम गरिरहेका नायब कार्यकारी निर्देशक डा नवराज अधिकारी अध्यक्षको मुख्य दाबेदारका रुपमा रहेका छन्। अध्यक्ष बन्नका लागि अधिकारीले ठूलै लबिङ पनि गरिरहेको कर्मचारी स्रोत बताउँछ। 

त्यस्तै सेबोनकै कार्यकारी निर्देशक निरज गिरी पनि अध्यक्षको दौडमा छन्। सेबोनमा गिरीको कार्यकाल सकिन लागे पनि अध्यक्ष पाए बस्न सक्ने सम्भावना रहेको कर्मचारी स्रोत बताउँछ। 

सेबोनको भावी अध्यक्षमा नेप्सेका निवर्तमान सीईओ चन्द्रसिंह साउद, आईक्यानका पूर्वअध्यक्ष कृष्ण आचार्य र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईको नाम पनि निकै चर्चामा छ। 

सर्वोत्तम प्रकरणमा नेप्सेका सीईओ साउद पनि मुछिएका छन्। उनले नैतिकताका आधारमा राजीनामा दिइसकेका छन्। यद्यपि सर्वोत्तम प्रकरणमा मुछिएर छवि धुमलिएका कारण साउद सेबोनको अध्यक्ष हुने सम्भावना कम रहेको देखिन्छ। 

सेबोनको धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ७ मा राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा बनेको समितिले सुरुमा ३ जना व्यक्तिको नाम सरकारलाई सिफारिस गर्छ। तिनै ३ जनामध्येबाट सरकारले एकजनालाई अध्यक्षमा नियुक्त गर्छ। 

सेबोनको अध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ। अध्यक्षमा नियुक्त हुनका लागि व्यक्तिले कम्तीमा स्नाकोत्तरको उपाधि हासिल गरी कम्तीमा ७ वर्ष धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वाणिज्य, कानुनलगायत अन्य वित्तीय क्षेत्रमा काम गरेको हुनुपर्ने प्रावधान ऐनमा छ।

यसैबीच अर्थमन्त्री जनार्दन शर्माका प्रेस सल्लाहकार सचिन रोक्काले सेबोनकै ऐन–नियमअनुसार छिटै नयाँ नेतृत्वको चयन हुने बताए। ‘सेबोनभित्रकै वा बाहिरबाट योग्य व्यक्ति सरकारले अध्यक्षमा नियुक्त गर्न सक्छ’, उनले भने, ‘छिटै अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु हुन्छ।’