-ताराप्रसाद फुल्लेल 
गौतम बुद्धले भन्नुभएको थियो ‘स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, विश्वसनीयता सबैभन्दा राम्रो सम्बन्ध हो, विवेक स्वास्थ्य र सम्बन्ध भन्दा पनि ठूलो हो । त्यसैले विवेकलाई प्राथमिकतामा राखिएको यो बुद्धको उपदेश केवल दर्शन मात्र नभई सबैतिर लागू हुन्छ । सेयर बजारका लागि त यो झन अपरिहार्य हुन्छ । 

विश्व महामारीको रूपमा फैलिएको दोश्रो चरणको ‘कोरोना कहर’ संक्रमणको दर दिनानुदिन बढ्दै गएको अवस्थामा नेपाल सरकारले लकडाउन गर्ने तयारी गरेको कुरा आएसँगै शेयर बजार पनि पहिलेको जस्तै बन्द हुन्छ कि भन्ने त्रासले लगानीकर्तामा अन्यौल भएको हुनसक्छ । गत वर्ष पहिलो चरणको कोभिड १९ संसारभर फैलिदै गर्दा नेपालमा समेत ठूलै सन्त्रास पैदा भएको थियो । नेपालको पुँजीबजारमा पूर्वाधारमैत्री प्रविधिको विकास नभइसकेको कारण टिएमएस लगायतका अनलाइन कारोबार प्रणालीमा लगानीकर्ताहरूको सहभागिता कम भई केही समय बजार बन्द गर्नु परेको थियो । 

गत वर्ष लकडाउनको बीचमा २ दिन खोलिएको कारोवारको रेकर्डलाई लिने हो भने डिम्याटमा आबद्ध लगानीकर्ताहरूको संख्या १६ लाख ६० हजार ३ सय ६३ को संख्यामा थियो । यसलाई आधार मान्ने हो भने केवल ०.५ प्रतिशतले मात्रै दोश्रो बजारको कारोवारमा सहभागिता जनाउनु भएको देखिन्छ । 

त्यसबेला पहिलो दिन खोलिएको बजारमा जम्मा १ हजार ६ सय ७१ जनाले गर्नु भएको कारोवारमध्ये ७ सय १९ जनाले अनलाईनमार्फत कारोबार गर्नुभएको थियो । 

त्यसैगरी दोश्रो दिन ३ हजार ९ सय १४ जनाले गर्नुभएको कारोवारमा ७ सय ६९ जनाले अनलाईन मार्फत कारोवार गर्नु भएको थियो । 

अहिले प्रविधिमा गरिएको सुधारसँगै लगानीकर्ताले ढुक्क भएर घरमै बसी शेयर कारोवार गर्नसक्ने वातावरण बनिसकेको छ र बजार बन्द गर्नुपर्ने अवस्था देखिंदैन । 

२०७८ बैशाख १२ गतेसम्म डिम्याट खोल्ने लगानीकर्ताहरूको संख्या ३४ लाख ६० हजार ७ सय ४५ पुगेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा दोब्बर भन्दा पनि बढी हो । 

त्यसैगरी कारोबार हेर्ने हो भने १ लाख ४ हजार ४० मध्ये ९९ हजार ८ सय ५० कारोबार अनलाईनबाट भएको देखिन्छ भने आजकै दिन दोश्रो बजारमा कारोवार गर्ने कारोवारीको संख्या ७ लाख ३० हजार ७ सय ४८ मध्ये ६ लाख १४ हजार ७ सय ४८ अनलाईनमार्फत भएको थियो, जुन समग्र कारोवार हेर्दा ८४ प्रतिशत अनलाईनबाट मात्रै भएको देखिन्छ । 

कारोवार रकम, कारोवार संख्या र अनलाईनमार्फत कारोवार गरिरहेका लगानीकर्ताहरूको संख्या हेर्दा नेपालको पुँजीबजार धेरै मात्रामा प्रविधिमैत्री भइसकेको छ र लगानीकर्ताहरू झञ्झटरहित कारोवार गर्न सक्षम भएका छौं भन्ने कुरा जनाउँछ । 

यी माथिका तथ्यांकहरूले के प्रष्ट पार्छ भने लकडाउन भइहाले पनि हाल उपलब्ध अनलाईन प्रणालीलाई आत्मसाथ गर्दै हामी सम्पूर्ण लगानीकर्ताहरू शेयर बजारमा सक्रिय सहभागिता जनाउनसक्छौं ।

अनलाईनमार्फत शेयर किनबेच गर्न सकिने, कारोवारबापतको पेमेण्ट आइपिएस र विभिन्न अनलाईन ट्रान्सफरमार्फत गर्न सकिने, शेयर ट्रान्सफर इडीआइएस गर्न सकिने र बेचेको पैसा सिधै तपाँईको खातामा ब्रोकरले राखिदिने व्यवस्था भएकोले शेयर कारोवार गर्न सहज छ । यसकारण लगानीकर्ता यदि कथम्कदाचित लकडाउन भइहाले पनि शेयर वजारलाई असर नपर्ने कुरा माथिका बुँदाहरूले प्रष्ट्याउँछ । 

ब्रोकर कार्यालयमा गएर कारोवार गर्ने, डिआइएस भरेर बुझाउनु पर्ने झण्झट, चेक बोकेर पेमेण्ट गर्न जानुपर्ने बाध्यता हटिसकेको छ । ब्रोकरमा खोलिने केवाइसी, मेरो सेयर, टिएमएस र डिम्याट अकाउण्ट समेत अनलाईनमार्फत खोल्ने व्यवस्था भइसकेको छ ।

कोरोना भाईरसको संक्रमणका कारण विविध आर्थिक लगानीका बाटाहरू संकुचन र असहज बन्दै जाँदा अन्य क्षेत्र प्रभावित भएतापनि यो क्षेत्र (शेयर बजार) प्रभावित नहुने कुरा प्रष्ट छ र अन्य क्षेत्रका लगानीकर्ताहरू पनि शेयर बजारमा अझ बढी आकर्षित हुने कुरा आँकलन गर्न सकिन्छ । पछिल्लो समय नेपाल सरकार र नियामक निकायले बजारलाई चुस्तदुरुस्त राखी पारदर्शी तवरले अगाडि बढाउन पहल गरेसँगै कहीँकतै बाँकी रहेका कमीकमजोरीहरू पनि समाधान भएर जाने कुरामा आशावादी हुन सकिन्छ । पहिलेको अवस्थामा र अहिले अरू विषयवस्तुमा तात्विक फरक नआएकोले त्रसित नहुन आम लगानीकर्ताहरूलाई अनुरोध छ  ।

आव २०७८र७९ को बजेट आउने तयारीमा छ, बजेट विकास, बजेट निकासा हुँदा तरलता बढ्ने, ब्याजदरमा बढ़ोतरी नहुने संकेत, रेमिट्यान्स भित्रिने क्रम बढ्नु, एनआरएनद्वारा लगानी बढाईनु, विदेशमा रहेका नेपाली लगानीकर्ताहरूले समेत शेयर बजारमा लगानी गर्नु , संसद पुनर्स्थापना भई संवैधानिक बाटोमा देशले स्थायित्वको बाटो समात्नु, सूचीकृत कम्पनीहरुका तेश्रो त्रैमासिक रिपोर्ट सन्तोषजनक आउनु, लगानीकर्ताहरूले राम्रो प्रतिफल पाउने सम्भावना बढ्नु, कोभिड संक्रमणविरूद्ध लगाईने भ्याक्सिन सहज रूपमा वितरण भइरहनु  र नेपाल सरकारले स्वास्थ्य मापदण्डलाई ख्याल गरी सचेतना अपनाई आर्थिक गतिबिधिलाई चलायमान बनाईनु जस्ता कुराहरूले बजारलाई दिगो र चलायमान बनाउने कुरामा विश्वस्त रहन सकिन्छ । 

अघिल्लो वर्षको चैत्र महिनामा डिम्याटमा आबद्ध लगानीकर्ताहरूमध्ये अनलाईनमा ०.५ प्रतिशतको सहभागिता भएकोमा हाल आएर २०७८ बैशाख १२ गते भएको कारोवारमा करिब ८४ प्रतिशत अनलाईनमार्फत कारोवार गरिरहेको तथ्यांकले लगानीकर्ताको भौतिक उपस्थितिबिना नै शेयर बजार सञ्चालन गर्न सकिन्छ भन्ने कुरा प्रष्ट हुन्छ, जसले गर्दा लकडाउन भइहालेता पनि शेयर बजारमा कारोवार गर्न कुनै पनि बाधा अड्चन नआउने कुरा घामजस्तै छर्लंग छ ।

अन्त्यमा, अर्थ मन्त्रालय, नियामक निकाय, फ्रन्टलाइन रेगुलेटर लगायतका शेयर सम्बद्ध पक्षहरू शेयर बजारको भविष्य बारे सकारात्मक रहेकाले हल्लाको पछाडि नलागी कम्पनीहरूको बारेमा अध्ययन गरेर आफ्नो जोखिम लिनसक्ने क्षमतालाई ध्यानमा राखेर लगानी गर्दा अहिलेको अवस्थामा नेपालको शेयर बजार लगानी र उचित रिटर्नका लागि आकर्षक गन्तव्य हुनसक्छ ।
(फुल्लेल सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष हुन् ।)