काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अब तीन प्रकारका ब्रोकर लाइसेन्स वितरण गर्ने प्रस्ताव गरेको छ।
धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ को संशोधन मस्यौदा स्वीकृत गर्दै सेबोनले तीन प्रकारका ब्रोकर लाइसेन्स वितरण गर्ने प्रस्ताव गरेको हो।
सेबोले सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारी गरी तीन प्रकारमा ब्रोकर लाइन्सेन्स वितरण प्रस्ताव गरेको छ। सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि न्यूनतम २० करोड रुपैयाँ चुक्तापुँजी निर्धारण गरिएको छ। यस प्रकारका ब्रोकरले सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेशअनुसार धितोपत्र खरिद वा बिक्री गर्न पाउनेछन्।
त्यस्तै पूर्ण कार्य गर्ने ब्रोकरको हकमा चुक्तापुँजी ६० करोड हुनुपर्ने प्रस्ताव गरिएको छ। यी ब्रोकरलाई खरिद–बिक्रीसहित मार्जिन कारोबार, लगानी परामर्श, लगानी व्यवस्थापन र निक्षेप सदस्यसम्बन्धी कार्य गर्ने सहुलियत पनि हुनेछ।
यसैगरी धितोपत्र व्यापरी लाइसेन्सका लागि १ अर्ब ५० करोड रुपैयाँ पुँजी प्रस्ताव गरिएको छ। यी धितोपत्र व्यापारीले धितोपत्र दलालको कार्यसहित आफ्नो नामबाट सेयर किनबेच पनि गर्न पाउनेछन्।
यसअघिको व्यवस्थाअनुसार ब्रोकरको न्यूनतम चुक्तापुँजीको २ करोड रुपैयाँ तोकिएको थियो।
ब्रोकर लाइसेन्सको प्रकारअनुसार सेबोनले लाग्ने शुल्क पनि छुट्टाछुट्टै कायम गर्ने प्रस्ताव गरेको छ। ब्रोकर लाइसेन्सका लागि नै आवेदकले न्यूनतम २५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ। प्रस्तावित नयाँ व्यवस्थाअनुसार धितोपत्र व्यापरी लाइसेन्सको दस्तुर सबैभन्दा महँगो १ करोड रुपैयाँ हुनेछ।
लाइसेन्स निवेदनको दस्तुर २ लाख रुपैयाँ पर्न जानेछ। धितोपत्र व्यापरी लाइसेन्सको हरेक वर्ष नवीकरण शुल्क लाग्नेछ। वार्षिक ५ लाख रुपैयाँ नवीकरण शुल्क धितोपत्र व्यापरी लाइसेन्सबापत लाग्ने प्रस्ताव सेबोनले गरेको छ।
सेबोनले पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्सको शुल्क ५० लाख रुपैयाँ र धितोपत्र दलाल सेवाका लागि २५ लाख रुपैयाँ शुल्क तोकेको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल लाइसेन्सको निवेदन दस्तुर भने १ लाख रुपैयाँ र सामान्य धितोपत्र दलाल सेवाको ५० हजार रुपैयाँ तोकिएको छ। नवीकरणका लागि पूर्ण कार्य गर्ने ब्रोकरको हकमा वार्षिक ३ लाख रुपैयाँ शुल्क र सामान्य धितोपत्र दलाल सेवाका हकमा १ लाख ५० हजार रुपैयाँ तोक्ने प्रस्ताव सेबोनले गरेको छ।
धितोपत्र बोर्डले प्रस्ताव गरेको नयाँ व्यवस्थाअनुसार योग्यता पूर्ति गर्ने जो कोही धितोपत्र दलालको रुपमा कम गर्न योग्य हुनेछन्।
प्रस्तावित नियमावलीमा ब्रोकर लाइसेन्सका लागि कोटा प्रणाली खारेज गरिएको छ। प्रत्येक आर्थिक वर्षको अन्त्यपछि ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गर्ने व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ।
सेबोनले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिई आवेदन माग गर्नेछ । सोपछि प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र इच्छुक कम्पनी वा संगठित संस्थाले सिफारिसका लागि सेबोनसमक्ष निवेदन दिन सक्नेछन्।
स्टक डिलरका रुपमा स्थापना हुन चाहने कम्पनीले भने धितोपत्र प्रत्याभूति कार्यका साथै योग्य संस्थागत लगानीकर्ताका रुपमा पनि काम गर्न सक्ने व्यवस्था गरिने प्रस्ताव गरिएको छ। अहिले नागरिक लगानी कोषले मात्र यस्तो लाइसेन्स पाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago