काठमाण्डौ । सांसदहरुले  नजिकिंदो चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव गराएर महंगी बढाइएकोले तत्काल नियन्त्रण गर्नसरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसदहरूले दैनिक उपभोग्य खाद्यान्नहरुको कृत्रिम अभाव सिर्जना गरिएको र कालोबजारी गरिएकोले नियन्त्रण गर्न ध्यानाकर्षण गराएका हुन् । 

संसदमा सम्बोधन गर्दै नेकपा(एमाले) का प्रमुख सचेतक पदम गिरीले बजारमा चिनीको कृतिम अभाव सिर्जना हुँदा पनि सरकारको ध्यान नगएको बताए । ‘चाडपर्वको सम्मुखमा चिनीको कृत्रिम अभाव सिर्जना गरिएको छ । नेपालका चिनी उद्योगीहरु साग पर्याप्त मात्रामा चिनी अहिले पनि छ । तर त्यो बजारमा आउन सकेको छैन । बजारमा कालोबजारी मौलाएको छ । सरकारले कालोबजारीहरुलाई प्रश्रय दिने काम गरेको छ । जनतामाथि यति ठूलो खेलबाड सरकारले नगरोस्’, उनले भने ।

त्यसैगरी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले महंगी नियन्त्रण गर्न नसकेको बताए ।

उनले  प्रविधिको प्रयोग गरी ठग्ने कार्यको अन्त्य गराउन सरकारको ध्यानाकर्षण गराए ।

‘महंगीको बारेमा जति नै कुरा गरेपनि सरकारले यसलाई नियन्त्रण गर्न सकेन । जनतामा खास आशा पनि छैन ।पछिल्लो समय ठगीको नयाँ धन्दा सुरु भएको भन्दै प्रविधिको प्रयोग गरेर ठगी धन्दा सुरु भएको छ,ठगिको अन्त्य होस् र त्यस्तो ठगी गर्नेलाई सख्त कारबाही गरियोस्’ पौडेलले भने ।

त्यसैगरी सांसद प्रेमबहादुर महर्जनले  महंगी र अभावलाई हटाउन अनुगमन गर्न सरकारले ध्यान दिनुपर्ने बताए । उनले सुलभ खाद्यान्न पसल टिकट र यातायातको व्यवस्था गर्न पनि माग गरेका छन् ।

सांसद दामोदर पौडेल बैरागीले उपभोग्य वस्तुको मूल्य अकासिएको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताए  ।

त्यसैगरी सांसद देवप्रसाद तिमल्सिनाले किसानले महिनौंदेखि दूधको मूल्य नपाएको भन्दै किसानको रकम तत्काल भुक्तानी गर्न माग गरे ।